हनि ट्रयापमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । हनि ट्रयापमा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–५ कालोपुल बस्ने कैलाली गोदावरी नगरपालिका–१० दमौरा घर भएकी ३४ वर्षीया ममता तामाङ र काठमाडौं महानगरपालिका–५ हाँडीगाउँ बस्ने भक्तपुर, भक्तपुर नगरपालिका–१७ सल्लाघारी घर भएकी ३४ वर्षीया आँचल श्रेष्ठ भन्ने आँचल चौगुठी रहेका छन् ।
आपराधिक लाभ लिने उद्देश्यले सामाजिक संजाल फेसबुक मार्फत कुराकानी गरी ठमेलस्थित एक होटलमा बोलाई खाजा तथा मादक पदार्थ सेवन गरी-गराई अचेत अवस्थामा पीडितको अश्लिल फोटो तथा भिडियो बनाई फेसबुक मेसेन्जरमा उक्त फोटो तथा भिडियोको स्क्रिनसर्ट पठाई काठमाडौंमा घर तथा ४ आना जग्गा दिनु पर्छ भनि विभिन्न किसिमका डर, धाक धम्कीहरू देखाई रकम माग गरी ५ लाखको चेक काट्न बाध्य पारी उक्त चेक लिई गएको भन्ने सूचना प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं महानगरपालिका–११ हनुमानस्थानबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट ५ लाखको चेक १ थान र मोबाइल २ थान समेत बरामद गरेको छ ।
उनीहरूलाई आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २६ जना पक्राउ
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदी सातघट्टेबाट अवैध लागूऔषध गाँजा करिब २ किलोग्राम सहित ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्ती बस्ने सुनसरी धरान उपमहानगरपालिका–४ घर भएका ३३ वर्षीय बिजय बानिया, काठमाडौं कपन बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–७ घर भएका १८ वर्षीय किशोर र काठमाडौं महानगरपालिका–६ तीनचुली बस्ने २७ वर्षीय सन्जिब पुरी रहेका छन् । प्रहरी बिट गागलफेदीबाट खटिएको प्रहरीले प्र.३–०२–०२१ प ६११८ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका–१२ टेकुस्थित ब्रम्हटोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ६७ ट्याब्लेट, मोबाइल ७ थान र नगद १९ हजार ५ सय रूपैयाँ सहित ४ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ बस्ने सिन्धुली घर भएका २४ वर्षीय सागर श्रेष्ठ, काठमाडौं टेकु बस्ने काभ्रे भएका २३ वर्षीय रविन श्रेष्ठ, नुवाकोट घर भएका २१ वर्षीय सुरेन्द्र अछामी र धादिङ घर भएका २५ वर्षीय बिजय आलेमगर रहेका छन् । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
रूपन्देहीको मायादेवी गाउँपालिका–३ गुण्डाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय मिलिग्राम सहित ४ जनालाई बिहीबार दिउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका–३ बस्ने २५ वर्षीय अक्तर हुसेन, २२ वर्षीय रियाज अन्सारी, २२ वर्षीय विपिन मिश्रा र ओमसतिया गाउँपालिका–३ बस्ने २८ वर्षीय सन्तोष कुमार वानिया रहेका छन् । इलाका प्रहरी कार्यालय बेथरी र अस्थायी प्रहरी चौकी रमवापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । प्रहरीले उनीहरूले प्रयोग गरेको लु.१४ प २९७ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
यसैगरी रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ बुद्बचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ९० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–३ बसपार्क बस्ने २२ वर्षीय सलाउदिन नाउ र मायादेवी गाउँपालिका–५ बस्ने २५ वर्षीय महेश चौधरी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरीले सलाउदिनलाई १ ग्राम १ सय ३० मिलिग्राम र महेशलाई ६ सय ६० मिलिग्राम उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ मुलपानी चोक बस्ने ४१ वर्षीया ब्यउरी नाथ योगीलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ८८ ग्राम १ सय ४० मिलिग्राम सहित बिहीबार दिउसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बाङगेसिमलबाट खटिएको प्रहरीले उनको नास्ता पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
मोरङको विराटनगर महानगरपालिका–१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ३० मिलिग्राम सहित सुन्दरहरैंचा नगरपालिका–१० बस्ने २२ वर्षीय निखिल रमतेल समेत २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापाको झापा गाउँपालिका–४ सुकुम्बासीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय मिलिग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शिवसताक्षी नगरपालिका–४ बस्ने २२ वर्षीय अनुरोध ताजपुरिया र १९ वर्षीय कुबेर कुमार ताजपुरिया रहेका छन् । प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
स्याङ्जाको वालिङ नगरपालिका–१० भकुण्डेबाट नियन्त्रित लागूऔषध डाइजेपाम ७ एम्पुल, फेनारगन ७ एम्पुल र आईपिपिएल ७ एम्पुल सहित कास्की पोखरा महानगरपालिका–२७ लेखनाथ बस्ने २६ वर्षीय अजित परियारलाई बिहीबार दिउसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले बुटवलबाट पोखरातर्फ आउँदै गरेको बा.२ ख १५९२ नम्बरको हाईसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
चितवनको राप्ती नगरपालिका–६ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय २९ ट्याब्लेट र स्टागन १ सय २९ ट्याब्लेट सहित २ जनालाई बिहीबार दिउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–११ थकलटार बस्ने २१ वर्षीय सन्त लामा र सोही नगपालिका–५ चौकी डाँडा बस्ने २० वर्षीय सुनिल दराई रहेका छन् । इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका–८ क्याम्पस चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६० मिलिग्राम सहित कैलारी गाउँपालिका–३ बस्ने ३२ वर्षीय लक्ष्मण चौधरीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलालीको धनगढी उमहानगरपालिका–८ क्याम्पस चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २७ वर्षीय राजेश रानालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ राटोमाटेबाट अवैध लागूऔषध गाँजा करिब ३ किलो ७ सय ग्राम सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–१५ भोर्ले बस्ने २२ वर्षीय भक्त बहादुर घलान र भीमफेदी गाउँपालिका–८ बस्ने २१ वर्षीय सरोज स्याङ्तान रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले नारायणगढबाट वीरगंजतर्फ जाँदै गरेको बा.४ ख ७४७५ नम्बरको बसमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ९० मिलिग्राम सहित दाङ घोराही उपमहानगरपालिका–८ बस्ने १९ वर्षीय रबिन पुन मगरलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले भारतबाट नेपालगंजतर्फ आउँदै गरेको रा.७ प ६०६६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया