शुक्रबार, जेठ १०, २०८२

अमेरिका र कुवेत पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

नेपालखोज २०८२ जेठ १० गते २०:३३

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका र कुवेत पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२६ नयाँबसपार्क बस्ने रूकुम पश्चिम त्रिवेणी गाउँपालिका–४ पोखरी घर भएका ३० वर्षीय शक्ति खड्का र काठमाडौं महानगरपालिका–९ बस्ने सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका–१ घर भएका २७ वर्षीय प्रविन कुमार मण्डल रहेका छन् ।

पक्राउ मध्ये शक्तिले अमेरिका पठाइदिछु भन्दै १ जना पीडितबाट ५५ लाख रूपैयाँ र प्रविनले कुवेत पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ५ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शक्तिलाई काठमाडौं महानगरपालिका–२६ नयाँबसपार्कबाट र प्रविनलाई काठमाडौं महानगरपालिका–९ बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया