शनिबार, जेठ ११, २०८२

दूध उत्पादनमा नमूना बन्दै तनहुँको ‘बेलवास गाउँ’

नेपालखोज २०८२ जेठ ११ गते १०:११

तनहुँ । जिल्लाको व्यास नगरपालिका-१३ स्थित बेलबास क्षेत्रका बासिन्दा दूध उत्पादन सबल बन्दै गएका छन् । यहाँका अधिकांश व्यक्ति पशुपालन र कृषिमा लागेका छन् । जसले गर्दा यस क्षेत्र नमूना बन्नुका साथै मुहारमा परिवर्तन आएको छ ।

आफूले दूध उत्पादन गर्नुका साथै पशुपालन गर्न चाहने किसानलाई उत्प्रेरण जगाउने कार्य गर्दै आएका छन् । यस क्षेत्रका पशुपालन कृषकले अन्य व्यक्तिका लागि पनि परिश्रम गर्न सकिए केही हुँदोरहेछ भन्ने गतिलो सन्देश दिएका छन् । दूध बिक्रीबाट आएको पैसाले लेनदेन व्यवहारका साथै दैनिक घरखर्च चलाउनमा सजिलो भएको पशुपालक किसान बताउँछन् ।

कृषकको खरिद मूल्यअनुरुप अहिले दैनिक रु एक लाख तीस हजार मूल्यको दूध सङ्कलन हुने गरेको संस्थाका व्यवस्थापक श्रीप्रसाद साँखीले जानकारी दिए । उनले भने, ‘थोरैमा मासिक रु १५ हजारदेखि दुई लाखसम्म कमाउने दूध व्यवसायी रहेका छन् ।’ एउटै गाउँबाट दैनिक एक हजार छ सय लिटर दूध बिक्री हुँदै आएको छ । उत्पादित दूध बेलबास दुग्ध उत्पादक सहकारी संस्थामार्फत दमौली र पोखरामा बिक्री हुने गरेको छ ।

संस्थामा आबद्ध १०० जना शेयर सदस्यमध्ये ६५ जना कृषकले पशुपालनबाट दुग्ध उत्पादन गरी बिक्री गर्दै आएको संस्थाका व्यवस्थापक साँखीले बताए । यहाँ उत्पादित दूधमध्ये दमौलीमा रहेका दुई डिपोबाट ६०० लिटर र बाँकी एक हजार लिटर दूध सुजल डेरी पोखरामा पठाइने गरिएको छ ।

पोखरा नपठाई स्थानीय बजारमा नै खपत गर्न सकिए यहाँका कृषकले अझ बढी फाइदा लिन सक्ने उहाँ बताउनुहुन्छ । दूधका साथै दही, पनिर, नौनी र घ्यू पनि बिक्री गर्ने गरिएको छ । आठ जना कर्मचारीले प्रत्यक्ष रूपमा रोजगारी पाएका छन् । यस क्षेत्रका अधिकांश मानिसहरु पशुपालन गरी आत्मनिर्भर बन्न सफल भएका छन् ।

सोही वडा निवासी लेखनाथ बाँस्तोला विगत चार वर्षदेखि व्यावसायिक गाई पाल्दै आउनुभएको छ । गाडी व्यवसायी समेत रहेका बाँस्तोलाले गाडी व्यवसाय छाडेर पुनः गाउँ फर्किएर पशुपालन पेसामा लागेका हुन् । उनका फार्ममा अहिले २२ वटा गाई छन् । जसमध्ये १५ वटा लैना गाईबाट दैनिक २०० बढी लिटर दूध बिक्री गर्दै आउनुभएको छ ।

त्यसैगरी १३ वर्ष वैदेशिक रोजगारीमा बसेर स्वदेश फर्किएर पशुपालनमा लाग्नुभएका अर्का दुग्ध व्यवसायी मेघनाथ आचार्यले नौ वटा गाईबाट दैनिक ४० लिटर दूध बिक्री गर्दै आउनुभएको छ । खर्च कटाएर मासिक रूपमा राम्रै आम्दानी हुने गरेको कृषक आचार्य बताउनुहुन्छ ।

व्यावसायिक पशुपालन कृषकलाई राज्यले प्रोत्साहन गर्न दाना, चोकरको महँगी नियन्त्रण र उत्पादनका आधारमा अनुदानलाई प्राथमिकता दिन सके अझै प्रभावकारी हुन सक्ने संस्थाका अध्यक्ष केशवबहादुर रानाले बताए ।

गाउँ नजिकै दुग्ध सङ्कलन केन्द्र रहेकाले कृषकले दैनिक बिहान र बेलुका उत्पादन गरेका दूध बिक्री गर्न समेत सहज भएको छ । नगरपालिकाले उत्पादनका आधारमा कृषकलाई प्रति लिटर दूधमा रु एक अनुदान प्रदान गर्दै आएकोमा वृद्धि गर्ने योजना रहेको वडाध्यक्ष वसन्तबहादुर आलेले बताउनुभयो । यस क्षेत्रका अधिकांश मानिस पशुपालन र कृषि पेसामा व्यस्त हुने गरेका छन् ।

प्रतिक्रिया