खोजमूलक पत्रकारिता गर्नुपर्नेमा सञ्चारमन्त्रीको जोड

कास्की । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले खोजमूलक पत्रकारिता गर्नुपर्नेमा जोड दिएका छन् ।
सञ्चार तथा सूचना मन्त्रालय र सञ्चारिका समूह गण्डकीको आयोजनामा आज पोखरामा भएको पत्रकारितामा महिलाको सहभागिता तथा विकासका लागि सरोकार भएकासँगको छलफलमा उनले आम स्रोता दर्शकलाई नवीन खोज र सञ्चार तथा सूचना प्रविधिको चरम विकासले ल्याएका अवसर र चुनौती, राष्ट्रियहित प्रवद्र्धन गर्ने विषय विषयवस्तु आमपाठक स्रोत तथा दर्शकले नपाएका बताए ।
मन्त्री गुरुङले सामाजिक सञ्जालमार्फत सार्वजनिक हुने सामग्री नियन्त्रण हुन जरुरी रहेको बताए । उनले साइबार अपराध नियन्त्रण गर्न साइबर सुरक्षा विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत भएको र चाँडै संसद्मा पेस गरिने जानकारी दिए ।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले देशमा गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएपछि सरकारले देशको सर्वाङ्गीण विकासका निम्ति थालेका प्रयास तथा अन्य आर्थिक समृद्धितर्फका क्रियाकलापलाई नेपाली पाठक स्रोता तथा दर्शकमा कम प्रस्तुत गर्ने प्रवृत्ति ‘केही पनि भएन भन्ने गलत प्रचार’प्रति सबैपक्ष संवेदनशील हुनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया