अमेरिकाको सान डिएगोमा विमान दुर्घटना, पाइलटसहित ६ जनाको मृत्यु

काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यको सान डिएगो नगरमा बिहान बाक्लो कुहिरोबीच एक सानो निजी विमान आवासीय क्षेत्रमा खस्दा पाइलटसहित विमानमा सवार सबै ६ जनाको मृत्यु भएको छ ।
अमेरिकी राष्ट्रिय यातायात सुरक्षा निकायका अनुसार ‘सेसना ५५० सिटेसन’ नामक सो विमान बिहीबार बिहान ३ः४७ बजे विद्युतको तारमा ठोक्किएर सिधै आवासीय क्षेत्रमा खसेको थियो । विमानमा आगो लागेपछि आसपासका थुप्रै घरमा क्षति पुगेको बताइएको छ ।
उक्त विमान चर्चित सङ्गीत व्यवसायी डेभ शापिरोको स्वामित्वमा रहेको थियो । दुर्घटनामा उनीसहित अन्य पाँच जनाको पनि ज्यान गएको छ ।
सान डिएगोको मर्फी क्यान्यन क्षेत्रका कम्तीमा १० घरमा विमानका भाग खस्दा सामान्य क्षति पुगेको जनाइएको छ । तर, जमिनमा रहेका मानिसमा गम्भीर चोटपटक नपरेको जानकारी प्राप्त भएको छ ।
दुर्घटनाको कारण अहिलेसम्म खुल्न नसकेको एनटीएसबीले जनाएको छ । सो समयमा विमानस्थलमा अवतरण मार्गका बत्ती र मौसम मापन यन्त्र काम नगरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । विमानका चालकले आपतकालीन सन्देश पनि नपठाएको जनाइएको छ ।
सुरक्षा निकायले प्रारम्भिक अनुसन्धानको प्रतिवेदन आउन केही सातासम्म लाग्ने जानकारी गराएको छ ।

प्रतिक्रिया