१० महिनामा ४ खर्ब ऋण उठाउँदा ३ खर्ब ८ अर्ब साँवा ब्याज भुक्तानी

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा करिब चार खर्ब बराबर सार्वजनिक ऋण उठाउँदा तीन खर्ब आठ अर्ब हाराहारी साँवा ब्याज भुक्तानी गरेको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तयार पारेको वैशाख मसान्तसम्मको सरकारी ऋणको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको सुरुमा कूल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ रहेकामा पछिल्लो १० महिनामा एक खर्ब ८८ अर्ब ३० करोड रुपैयाँ थप वृद्धि भई कूल ऋण दायित्व २६ खर्ब २२ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । जुन कूल गार्हस्थ्य उत्पादनको ४२.९४ प्रतिशत हुन आउँछ । कूल सार्वजनिक ऋणमा वैशाख मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५१.६९ प्रतिशत अर्थात् १३ खर्ब ५५ अर्ब ६९ करोड रुपैयाँ रहेको छ ।
आन्तरिक ऋणको हिस्सा ४८।३१ प्रतिशत अर्थात् १२ खर्ब ६६ अर्ब ७० करोड रुपैयाँ रहेको छ । वैशाख महिनामा सार्वजनिक ऋण प्राप्तिभन्दा साँवा भुक्तानी बढी गरेकाले अघिल्लो महिनाको तुलनामा कूल सार्वजनिक ऋण दायित्व घट्न गएको कार्यालयले जनाएको छ । गत चैत मसान्तसम्ममा कूल सार्वजनिक ऋण २६ खर्ब ६७ अर्ब २६ करोड रुपैयाँ बराबर थियो ।
सरकारको वार्षिक लक्ष्यअनुसार आन्तरिक ऋण उठाउन प्रगति देखिए पनि बाह्य ऋण भने वार्षिक लक्ष्यको तुलनामा कम मात्र उठेको छ । ‘चालु आर्थिक वर्षमा जम्मा पाँच खर्ब ४७ अर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकामा वैशाख मसान्तसम्ममा तीन खर्ब ९० अर्ब ८३ करोड रुपैयाँ ऋण प्राप्ति भएको छ । वार्षिक लक्ष्यको तुलनामा कूल ऋण प्राप्ति ७१.४५ प्रतिशत रहेको छ’, प्रतिवेदनमा भनिएको छ, ‘जसमध्ये आन्तरिक ऋण प्राप्तिको प्रगति ९१.२५ र बाह्य ऋण प्राप्तिको प्रगति ४१.३३ प्रतिशत रहेको छ । कूल सार्वजनिक ऋण प्राप्तिमध्ये आन्तरिक ऋण ७७.०५ र बाह्य ऋण २२.९५ प्रतिशत रहेको छ ।’
चालु आर्थिक वर्षका लागि सरकारले तीन खर्ब ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेकामा हालसम्म तीन खर्ब एक अर्ब १४ करोड रुपैयाँ उठाएको छ भने २८ अर्ब ८५ करोड रुपैयाँ आन्तरिक ऋण उठाउन बाँकी छ ।
त्यसैगरी यस वर्ष दुई खर्ब १७ अर्ब रुपैयाँ बाह्य ऋण उठाउने सरकारी लक्ष्य रहेकामा हालसम्म ८९ अर्ब ६८ करोड रुपैयाँ उठिसकेको छ भने एक खर्ब २७ अर्ब ३१ करोड रुपैयाँ उठ्न बाँकी छ ।
सरकारले यस वर्ष सार्वजनिक ऋणको साँवाब्याज भुक्तानीका लागि चार खर्ब दुई अर्ब ८५ करोड रुपैयाँ बजेट छुट्याएको थियो । जसमध्ये गत वैशाख मसान्तसम्ममा तीन खर्ब आठ अर्ब १४ करोड रुपैयाँ साँवाब्याज भुक्तानी भएको छ । यो वार्षिक बजेट विनियोजनको आधारमा ७६.४९ प्रतिशत हो । कूल गार्हस्थ्य उत्पादनका आधारमा वैशाख मसान्तसम्ममा कूल ऋण सेवा खर्च पाँच दशमलव ०५ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया