शनिबार, जेठ ११, २०८२

पर्यटक बढेपछि होटेलमा लगानी थपियो

नेपालखोज २०८२ जेठ ११ गते २१:५२

गलकोट (बागलुङ) । पर्यटन व्यवसाय फस्टाउँदै जान थालेपछि बागलुङमा होटेलमा लगानी बढेको छ । आन्तरिक र बाह्य पर्यटक वृद्धि हुन थालेपछि यहाँ होटलमा लगानी थपिँदै जान थालेको हो ।

अन्तरराष्ट्रिय मापदण्डको होटल ‘इला कम्फर्ट’ रु ३० करोड लागतमा निर्माण गरी सञ्चालनमा ल्याइएको छ । व्यवसायी चन्द्रप्रसाद ढकालले गृह जिल्लामा ३१ कोठाको सुविधासम्पन्न होटल सञ्चालनमा ल्याएका । आइएमई ग्रुपअन्तर्गत रहेर अन्तरराष्ट्रिय मापदण्डको होटल बागलुङमा पहिलोपटक सञ्चालनमा आएको हो ।

जिल्लामा आउने विशिष्ट तथा अतिविशष्टि पर्यटकलाई लक्षित गरी सुविधासम्पन्न होटल सञ्चालनमा ल्याइएको हो । बागलुङ कालिका मन्दिर, विश्वकै दोस्रो लामो झोलुङ्गे पुल, बन्जी पुल, पञ्चकोट, शालग्राम सङ्ग्रहालयलगायत पर्यटकीय गन्तव्यका कारण पछिल्लो समय बागलुङका होटल भरिभराउ हुन थालेपछि यस क्षेत्रमा लगानी थपिँदै गएको ढकालले बताए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष ढकालका अनुसार होटललाई अन्तरराष्ट्रिय मापदण्डअनुसार ‘इला कम्फर्ट’ नामाकरण गरिएको हो ।

शिक्षक पेसा छोडेर होटल व्यवसायमा लागेका काठेखोला गाउँपालिका–७ रेशका तालबहादुर कुँवरले २० वर्षको होटल व्यवसायको अनुभवपछि बागलुङ नगरपालिका–४ उपल्लाचौरमा हार्ट शीतल सञ्चालनमा ल्याएका हुन् ।

सानो घरबाट होटल व्यवसाय थाल्नुभएका कुँवर अहिले बागलुङ बजारको उपल्लाचौरबाट विशिष्टिकृत होटलबाट सेवा दिन थालेका छन् । चार कोठाबाट सुरु गरेको होटेल व्यवसाय बढ्दै २४ कोठामा पुगिसकेको उनको भनाइ छ ।

कुँवरले रु दुई करोड खर्चेर होटललाई नयाँ व्यवस्थापनका साथ सुविधासम्पन्न पाँचतले घरबाट सेवा दिन थाल्नुभएको छ । उनका अनुसार उक्त भवनको मासिक भाडा मात्रै रु एक लाख पर्छ ।

बागलुङ नगरपालिकाका प्रमुखसमेत रहनुभएका वसन्तकुमार श्रेष्ठले उपल्लाचौरस्थित आफ्नै जग्गामा संरचना तयार पारेर होटल ‘रेड एप्पल’ सञ्चालनमा ल्याएका छन् । उनले बागलुङमा आउने पर्यटकले सुविधासम्पन्न होटल नभएको गुनासो गरेपछि उहाँहरूको समस्या सम्बोधन गर्न होटल सञ्चालनमा ल्याइएको बाताए ।

यहाँ अन्तरराष्ट्रिय मापदण्डको होटल सञ्चालनमा आएपछि विदेशी पर्यटकलाई सहज भएको छभने यहाँबाट मुस्ताङ हिँडेका पर्यटकलाई पनि सहज हुने अपेक्षा गरिएको छ ।

पाँच वर्षयता बागलुङमा होटल दी राजन, सगुन होटल र कालिका मन्दिर गेटमा कालिका मल्टिप्यालेसलगायत सुविधासम्पन्न होटल सञ्चालनमा आइसकेका छन् । -रासस

प्रतिक्रिया