‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८२’ जेठ १५ देखि

नेपालखोज २०८२ जेठ १२ गते २१:०४

काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले गणतन्त्र दिवसको अवसर पारेर यही जेठ १५ गतेदेखि राष्ट्रिय ललितकला प्रदर्शनी २०८२ आयोजना गर्ने भएको छ ।

प्रतिष्ठानको कार्यालय नक्सालमा आज पत्रकार सम्मेलन गरी प्रतिष्ठानले नेपाली चित्रकला, मूर्तिकला, लोककला, हस्तकला, वास्तुकला तथा अन्य सिर्जनात्मक बहुआयामिकलगायत विविध विधा–उपविधागत कला समावेश हुने गरी १५ दिने ललितकला प्रदर्शनी आयोजना गर्न लागिएको जानकारी दिएको हो । यो ललितकला क्षेत्रकै महाउत्सव मानिने प्रदर्शनी हो ।

प्रतिष्ठानले ‘सामाजिक रूपान्तरण : ललितकलाको अभियान’ भन्ने मूल भावमा रहेर सम्पन्न गरेको ‘प्रादेशिक ललितकला प्रदर्शनी–२०८१’मार्फत छानिएका कलाकृति समावेश गरेर उक्त प्रदर्शनी आयोजना गर्न लागेको जनाएको छ ।

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले यस प्रदर्शनीसँगै तेस्रो वर्षमा अनुसन्धानलाई जोड दिँदै कलाकारको सर्वेक्षण र ‘प्रोफाइल’ तयार गर्ने र विविध कला अभियानलाई अघि बढाउने रणनीतिक योजना अघि सारिएको बताए ।

यसवर्ष प्रादेशिक ललितकला प्रदर्शनीमा सहभागी र अप्रतियोगी कलाकृतिसमेत समावेश गरी ५७१ कलाकारका ६०६ कलाकृति प्रदर्शनीमा राखिने उहाँले जानकारी दिए ।

उपकुलपति तथा प्रदर्शनीका कार्यकारी संयोजक लालकाजी लामाले प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको बताए । उहाँका अनुसार कोशी प्रदेशबाट ८२ कलाकारका ८२, मधेस प्रदेशबाट ८८ कलाकारका ९८, बागमती प्रदेशबाट १६४ कलाकारका १८३, गण्डकी प्रदेशबाट ५३ कलाकारका ५५, लुम्बिनी प्रदेशबाट ६५ कलाकारका ६६, कर्णाली प्रदेशबाट ४० कलाकारका ४१, सुदूरपश्चिम प्रदेशबाट ३९ कलाकारका ३९ कलाकृति प्रदर्शनीमा रहने छन् । प्रदेशगत छुट्टा छुट्टै ‘ग्यालरी’ रहने जनाइएको छ ।

प्रदर्शनीमा अप्रतियोगीअन्तर्गत ४५ र आमन्त्रित ३३ गरी ७८ कलाकारका ७९ कलाकृति समावेश हुने छन् । विधागत रूपमा समसामयिक चित्रकलाका २०१ कलाकारका २०८, परम्परागत चित्रकलाका ७२ कलाकारका ७३, समसामयिकरआधुनिक मूर्तिकलाका ५१ कलाकारका ५२, परम्परागत मूर्तिकलाका १६ कलाकारका १८, वास्तुकला तथा लोककलाका ८४ कलाकारका ८८, शिल्प–हस्तकलाका ७४ कलाकारका ७९, बहुआयामिक तथा अन्य सिर्जनात्मक कलाअन्तर्गत छविकलाका ४५ कलाकारका ५९, प्रतिस्थापन कलाका नौ कलाकारका नौ, कार्टुनका १३ कलाकारका १४, क्यारिकेचरका ३ कलाकारका ३, डिजिटलका एक कलाकारको एक, भावभङ्गी कलाका दुई कलाकारका दुई कलाकृति प्रदर्शनीमा रहने जनाइएको छ । -रासस

प्रतिक्रिया