छाडा गाई हेरचाह गर्न गौ संरक्षण केन्द्र

तनहुँ । व्यास नगरपालिका-१० दुम्सीमा स्थापना गरिएको गौ संरक्षण तथा सरसफाइ व्यवस्थापन केन्द्र बेबारिसे अवस्थामा छाडिएका र पाल्न छाडिएका गाई संरक्षणका लागि प्रभावकारी बनेको छ । छाडा तथा वृद्ध गाईहरू जथाभावी छाडिदिँदा दुर्घटना हुनुका साथै फोहर बढ्न थालेपछि विसं २०७६ मा नगरले केन्द्र स्थापना गरी गौ संरक्षण गर्न थालेको हो ।
नगरले तत्कालीन समयमा तुल्सीराम सापकोटाको संयोजकत्वमा अध्ययन समिति गठन गरेर केन्द्र स्थापना गरेको थियो । मादीनदी किनारमा रहेको सार्वजनिक जग्गालाई तारबार गरेर केन्द्र सञ्चालनमा ल्याइएको जनाउँदै उनले अहिले गाई संरक्षणका लागि केन्द्र प्रभावकारी बन्दै गएको बताए ।
केन्द्रका अध्यक्ष सापकोटाका अनुसार विभिन्न चरणमा गरी हाल तीन सय रोपनी क्षेत्रफलमा केन्द्र सञ्चालित छ । उनले भने, ‘तत्कालीन समयमा तीन सय रोपनीमा तारबार गर्न आर्थिक अभाव थियो । प्रत्येक वर्षको बजेटबाट विभिन्न चरणमा गरी अहिले सबै क्षेत्रमा तारबार गरिएको छ ।’ केन्द्र स्थापना भएपछि विभिन्न ठाउँबाट गाई ल्याउने गरिएको उनको भनाइ छ ।
गाईले दूध दिन छाडेपछि कहाँ लैजाने भनेर किसान समस्यामा परिरहेको अवस्थामा केन्द्र सहयोगी बनेको सापकोटाले उल्लेख गरे ।
आगामी दिनमा हड्डीबाट पनि आम्दानी लिने योजनासहित अघि बढेको बताउँदै अध्यक्ष सापकोटाले त्यसका लागि उपकरण खरिद गर्ने तयारी गरिएको जानकारी दिए । दमौली बजारमा उत्पादित कुहिने फोहरबाट बायो ग्यास उत्पादन गरिएको सापकोटाले बताए ।
उनका अनुसार दमौली बजारबाट सङ्कलन हुने दिसापिसाबको प्रयोग गरी घाँस उत्पादन गरिएको छ । बजेट अभावमा केन्द्र सञ्चालनका लागि समस्या रहेपनि विभिन्न दाता, सङ्घसंस्थाले गर्ने सहयोगले गाईलाई आहारा खुवाउन मद्दत मिलेको छ ।
व्यास नगरको सहयोगमा यहाँ तीन र केन्द्रबाट एक जना कर्मचारी नियुक्त गरिएको सापकोटाले जानकारी दिए । नगरपालिकाले मासिक पाँच लाख रुपैयाँ परालका लागि विनियोजन गरेपनि उक्त रकम पर्याप्त नभएको उनको भनाइ छ । हाल यहाँ १२० गाई छन् । -रासस

प्रतिक्रिया