शनिबार, असार २, २०८१

राप्रपा एकीकरण बहिस्कार गरेका थापा गर्लान् त कांग्रेस प्रवेश ?

नेपालखोज २०७६ फागुन २८ गते १६:२३

काठमाडौँ । राप्रपा संयुक्तका महामन्त्री सुनिल थापाले राप्रपाको एकीकरण बहिस्कार गरेका छन् । राष्ट्रियसभा गृहमा बुधबार आयोजित राप्रपा र राप्रपा संयुक्तबीचको पार्टी एकीकरण घोषणा कार्यक्रम बहिस्कार गरेका राप्रपा संयुक्तका महामन्त्री तथा पूर्वमन्त्री सुर्यबहादुर थापाले आफ्नै निवासमा निकटस्थहरुसँग छलफल गरेका छन् ।

राष्ट्रियसभा गृहममा पार्टी एकीकरण घोषणा कार्यक्रम भइरहँदा उनी मालिगाउँस्थित आफ्नै निवासमा छलफलमा व्यस्त रहेका थिए । यसअघि मंगलबार बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बहिस्कार गरेका राप्रपा संयुक्तका नेता सुनिल थापा कांग्रेसमा जाने चर्चा चलेको छ ।

राजतन्त्रको पक्षमा आफू उभिन नसक्ने भन्दै उनले पार्टी एकीकरण बहिस्कार गरेका हुन् । कमल थापा नेतृत्वको राप्रपा राजतन्त्रको पक्षमा उभिँदै आएको छ । कमल थापा नेतृत्वको पार्टीसँग एकता गर्ने पशुपति समशेरको निर्णयमाथि उनले आपत्ति जनाएका थिए ।

उनले गणतन्त्र र संघीयताको विरुद्धमा राजतन्त्रलाई स्वीकार गरेकाले एकीकरण कार्यक्रम सहभागी नभएका बताएका छन् । उनले दोस्रो जनआन्दोलनबाट प्राप्त परिवर्तनलाई स्वीकार्नु पर्ने बताउँदै आएका छन् ।

गत निर्वाचनलगत्तै कांग्रेस प्रवेश गर्ने हल्ला चल्दै आएका बेला उनले राप्रपाको एकीकरण बहिस्कार गरेका हुन् । यद्यपि कांग्रेस नेताहरूसँग उनको छलफल भइरहेको खबर आइरहने गरेको छ । पार्टी प्रवेशका लागि नेता थापासँग कांग्रेस सभापति शेरबहादुर देउवा आफैंले चरणवद्ध छलफल गरेको स्रोतले जनाएको छ ।

सुरुदेखि नै गणतन्त्रवादी नेताको रुपमा चिनिएका उनी राप्रपा संयुक्त पछिल्लो समय हिन्दूराष्ट्र र राजसंस्थाको पक्षमा उभिएपछि रुष्ट बनेका थिए । संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाएर जानुपर्ने उनको आवाजको कुनै सुनुवाइ नहुने भएपछि उनी कांग्रेस प्रवेशको तयारीमा जुटेका हुन् ।

प्रतिक्रिया