क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा टोखा नगरपालिका बस्ने खोटाङ वराहपोखरी गाउँपालिका–५ घर भएकी ३४ वर्षीया सम्झना राईलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
सम्झनाले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–१६ बाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी भक्तपुर सूर्यविनायक नगरपालिका–४ बस्ने ४४ वर्षीय महेश्वर खत्रीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत भक्तपुरको २०८१ मंसिर २६ गतेको फैसलाले ५ दिन कैद, ६ लाख रूपैयाँ जरिवाना र पीडित राहत कोषमा क्षतिपूर्ति बापत २४ हजार रूपैयाँ ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर नगरपालिका–३ भेलुखेलबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएको छ ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु
काठमाडौं । मकवानपुरको थाहा नगरपालिका–३ स्थित सडकमा गोपाली गाउँबाट थानाबजारतर्फ जाँदै गरेको बा.३ ख ५९९० नम्बरको बसको ठक्करबाट ३ जना पैदलयात्रीहरूको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सोही नगरपालिका–९ चित्लाङ बस्ने ४० वर्षीय कृष्ण बलामी, सप्तरी बिष्णुपुर गाउँपालिका–५ बस्ने ३६ वर्षीय लोकेन्द्र कुमार ठाकुर र सिराहा औरही गाउँपालिका–१ बस्ने ३३ वर्षीय रघुनन्दन यादव रहेका छन् ।
सोमबार साँझ भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका कृष्ण र लोकेन्द्रको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा र रघुनन्दनको नेपाल नेशनल अस्पतालमा उपचारको क्रममा सोमबार राति मृत्यु भएको हो । साथै उक्त बसको ठक्करबाट घाइते भएका अन्य ३ जना पैदलयात्रीहरू मध्ये १ जनाको बिएण्डबि अस्पताल काठमाडौंमा र १ जनाको नेपाल नेशनल अस्पताल कलंकी काठमाडौंमा उपचार भइरहेको छ भने १ जना उपचार पश्चात डिस्चार्ज भएका छन् । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पर्साको वीरगंज महानगरपालिका–७ कुमाल टोलमा म.प्र.०३–००२ स ४३८८ नम्बरको लोडरको ठक्करबाट पैदलयात्री हाल नाम, थर र वतन नखुलेका अन्दाजी २८ वर्षीय पुरूषको सोमबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल परवानीपुर बारामा थप उपचारको क्रममा मृत्यु भएको हो । लोडर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कैलालीको घोडाघोडी नगरपालिका–३ निम्दीस्थित सडकमा सुखडबाट भजनीतर्फ जाँदै गरेको सु.प.प्र.०१–००९ प ८४५२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीय मान बहादुर चौधरीको सोमबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुखडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिका–७ अम्रसा जंगलस्थित सडकमा अम्रसाबाट चोरमारातर्फ आउँदै गरेको लु.९ प ८११६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका–७ चोरमारा बस्ने २४ वर्षीय नविन कुमाल र २२ वर्षीय रादिम मिधुनको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको प्रादेशिक अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनालाई थप उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया