सोमबार, असार २, २०८२

चिनियाँ रासायनिक कारखानामा भयानक विष्फोट

नेपालखोज २०८२ जेठ १४ गते १८:३८

काठमाडौं । पूर्वी चीनको एक रासायनिक कारखानामा मङ्गलबार भएको ठूलो विस्फोटका कारण भवनबाट ठूलो मात्रामा धुवाँको मुस्लो उठेको चिनियाँ राज्य सञ्चालित सञ्चार माध्यमले जनाएको छ ।

चीनको समाचार संस्था सिन्ह्वा न्यूज एजेन्सीका अनुसार राजधानी बेइजिङबाट करिब ४५० किलोमिटर दक्षिणपूर्वमा रहेको शान्दोङ प्रान्तको गाओमी शहरमा अवस्थित युदाओ केमिकल प्लान्टमा स्थानीय समयअनुसार बिहान ११:५७ बजे विस्फोट भएको हो ।

बेइजिङबाट प्रकाशन हुने पत्रिका सिनजिङबाओको अनलाइन सेवामा प्रसारण गरिएको भिडिओमा आकाशमा धूलो र धुवाँको बाक्लोे मुस्लो उडिरहेको, औद्योगिक क्षेत्रमा आगो लागेको र पसलका झ्याल विस्फोटबाट उडेको देखिन्छ।

भिडियो क्लिपमा सडकको छेउछाउमा भग्नावशेष छरिएको, झ्याल फुटेको कार र पृष्ठभूमिमा रहेका घर तथा भवनलाई प्रभावित पार्ने खालको सुन्तला रङ्गको ठूलो आगोको लप्को पनि देखाइएको छ ।

राष्ट्रिय आपतकालीन व्यवस्थापन मन्त्रालयले जारी गरेको विज्ञप्तिमा आपतकालीन सेवाका लागि ५५ वटा सवारी साधन र २३२ जना पहिलो उद्धारकर्तालाई घटनास्थलमा पठाएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

चिनियाँ अनलाइन मिडिया द पेपरका अनुसार ४७ हेक्टर (११६ एकड) को जमिनमा फैलिएको युडाओ केमिकलले ‘कम विषाक्त’ कीटनाशक उत्पादन गर्दछ र यहाँ करिब ३०० मानिसले काम गर्छन् ।

यसअघि सन् २०१५ मा बन्दरगाह शहरका रूपमा चिनिने तियानजिनमा ज्वलनशील रसायन भएको गोदाममा भएको विस्फोटमा १७० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो भने ७०० जना घाइते भएका थिए।

प्रतिक्रिया