शुक्रबार, जेठ १७, २०८२

प्रहरी सक्रियता बढेपछि लागुऔषध कारोबारीले भरिए हिरासत

नेपालखोज २०८२ जेठ १५ गते २०:११

सुरुङ्गा (झापा) । इलाका प्रहरी कार्यालय काँकरभिट्टामा चार महिलासहित ४० जना थुनुवा छन् । तीमध्ये लागुऔषध मुद्दाका ३५ जना छन् । प्रहरी सक्रियता बढेपछि लागुऔषध कारोबारीले हिरासत भरिन थालेका हुन् ।

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार कार्कीले प्रहरीले सीमानाकामा निगरानी बढाएसँगै लागुऔषध कारोबारीको सङ्ख्या बढ्दै गएको जानकारी दिए ।

यस कार्यालयका इञ्चार्ज प्रहरी नायब उपरीक्षक राजन लामा हुनुहुन्छ । योसँगै इलाका प्रहरी कार्यालय दमक ‘क’ श्रेणीका प्रहरी कार्यालय हुन् ।

प्रहरी कार्यालय दमकको नेतृत्वमा प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमल्सिना हुनुहुन्छ । यसमा एक महिलासहित २३ जना थुनुवा छन् ।

तीमध्ये लागुऔषध मुद्दाका १४ जना थुनुवा रहेका जनाइएको छ । प्रहरी सक्रियताका कारण यो प्रहरी कार्यालयले पनि दैनिकजसो लागुऔषध प्रयोगकर्तालाई पक्राउ गरी मुद्दा दर्ता गर्दै आएको छ ।

इलाका प्रहरी कार्यालय, अनारमनीको नेतृत्व प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले सम्हाल्नुभएको छ । यहाँ पाँच महिलासहित ३० जना थुनुवा रहेकामा लागुऔषधसम्बन्धी २२ वटा मुद्दा दर्ता भएका कार्यालयका प्रनाउ श्रेष्ठले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयमा दुई महिलासहित ४२ जना थुनुवा छन् । त्यसमध्ये २२ वटा मुद्दा लागुऔषधसम्बन्धी रहेका प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयसहित अन्य तीनवटा इलाका कार्यालयमा प्रहरी नायब उपरीक्षकको नेतृत्वमा दर्ता भएका मुद्दामध्ये अधिकांश लागुऔषधका छन् । प्रहरीले दिनहुँजसो लागुऔषध कारोबारीलाई पक्राउ गर्दै मुद्दा दर्ता गरेकाले यो सङ्ख्या दिनहुँ बढ्दै गएको हो ।

झापा लागुऔषध प्रयोगकर्ता र कारोबारको ‘हव’बन्दै गएपछि त्यसलाई नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालयले सक्रियता बढाएको छ । कार्यलयका प्रहरी उपरीक्षक राजन लिम्बूले लागुऔषध दुव्र्यसन रोक्न ‘एक्सन’ लिएसँगै झापाका हिरासत कक्ष अहिले लागुऔषध कारोबारीले भरिभराउ भएका बताए । उनका अनुसार २४ विदेशीसहित चार सय ११ जना लागुऔषध मुद्दाका कारोबारी प्रहरी नियन्त्रणमा छन् ।

पक्राउ परेकामाथि लागुऔषधसम्बन्धी मुद्दा दर्ता गर्दै कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयमा दुई सय ७१ वटा मुद्दा दर्ता हुँदा चार सय ११ जना पक्राउ परेका जनाउँदै दुई जना सझै फरार रहेका उनले बताए । प्रहरीले यो अवधिमा एक हजार ६४९ किलो गाँजासहित चरेस तथा ब्राउन सुगरसहित अन्य लागुऔषध बरामद गरेको छ ।

लागुऔषधको अखडा सिमसार क्षेत्र

लागुऔषधका काराबारीका लागि सिमसार क्षेत्र अखडाका रूपमा रहेका अनुसन्धानका क्रममा पाइएको प्रहरीले जनाएको छ । अधिकांश मानिस मनोरञ्जनका लागि सिमसार क्षेत्र जाने भएकाले पनि कारोबारीले यस क्षेत्रलाई प्रयोग गर्ने गरेका पाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक लिम्बूले उल्लेख गरे ।

उनका अनुसार मेचीनगर नगरपालिका–११ स्थित कालिका सामुदायिक वन क्षेत्र (सिमसार क्षेत्र) भित्रबाट प्रहरीले मङ्गलबार एकै दिन ४३ जनालाई पक्राउ गरेपछि सिमसार क्षेत्रभित्रमा हुने लागुऔषध बारोबारको वास्तविकता बाहिरिएको हो ।

मङ्गलबार साँझ मेचीनगर–११ कालिका सामुदायिक वनमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशी, प्रहरीचौकी चारआलीबाट प्रहरी नायब निरीक्षक प्रमोद रेग्मी, जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक विजय चौहान र लाुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट प्रहरी नायब निरीक्षक कुमार सोमेश लामिछानेको कमाण्डमा खटिएको स्वीप अपरेसन टोलीले एकै साथ ४३ जनालाई पक्राउ गरेको थियो । पक्राउपर्नेमध्ये अधिकांश सेवनकर्ता पुरुष रहेका प्रहरीले जनाएको छ ।

प्रहरीले उनीबाट १४ थान मोटरसाइकल, एउटा अटो र एउटा मारुतीभ्यान बरामद भएको जनाएको छ । साथै लागुऔषध बिक्री गर्ने मेचीनगर–११ का १८ वर्षीय शनिल मेचे, मेचीनगर–१२ का २५ वर्षीय अजय मेचेलाई प्रहरीले आज पक्राउ गरेको छ ।

प्रहरीले निजहरूबाट ब्राउन सुगर दुई दशमलव ८९ ग्राम, ट्रामाडोल १६ ट्याब्लेट, एन्टिकोफ १५ ट्याब्लेट, स्पास्पिन १५ ट्याब्लेट रु १८ हजार चार सय नगद र रेडमी ब्राण्डको मोबाइल एक थान नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए । -रासस

प्रतिक्रिया