‘गणतन्त्रको रक्षा र परिवर्तनकारी शक्तिबीचको एकता र गणतान्त्रिक शक्तिबीचको सहकार्य अपरिहार्य’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र अग्रगामी परिवर्तनको पक्षमा दृढतापूर्वक उभिनु सच्चा गणतन्त्रवादीको कार्यभार भएको बताएक छन् ।
गणतन्त्र दिवस–२०८२ का अवसरमा आज शुभकामना दिँदै उनले गणतन्त्रको रक्षा, प्रयोग र विकासका लागि परिवर्तनकारी शक्तिबीचको एकता र गणतान्त्रिक शक्तिबीचको सहकार्य अपरिहार्य रहेको बताए ।
पूर्वप्रधानमन्त्री दाहालले गणतान्त्रिक संविधानबाट प्रदत्त मौलिक हकको कार्यान्वयन गरेर फेरिएको व्यवस्थाअनुकूल नेपाली जनताको आर्थिक, सामाजिक र सांस्कृतिक जीवनमा रूपान्तरण गर्ने कार्यभार पूरा गर्नेतर्फ दलहरूको ध्यान जानुपर्ने बताए ।
अध्यक्ष दाहालले गणतान्त्रिक सोच, शैली र आचरणको विकास गर्दै गणतान्त्रिक शक्तिबीचको बलियो एकता र सहकार्यका साथ जनताको अवस्था बदल्ने अभियानमा केन्द्रित हुन गणतन्त्र दिवसले प्रेरित गरोस् भनी कामना गरेका छन् ।
उनले गणतन्त्र प्राप्तिका लागि भएको जनयुद्ध र विभिन्न जनआन्दोलनमा प्राण उत्सर्ग गर्ने सहिदप्रति श्रद्धाञ्जली तथा बेपत्ता, घाइते योद्धाको त्याग र समर्पणप्रति सम्मान प्रकट गरेका छन् । -रासस
प्रतिक्रिया