जनताको सेवालाई आफ्नो प्रमुख कर्तव्य ठान्दै अघि बढ्नु आजको आवश्यकता : उपराष्ट्रपति यादव

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले देश र आमनागरिकप्रति उत्तरदायी सरकार, संवैधानिक मर्यादाको पालना र जनताको सेवालाई आफ्नो प्रमुख कर्तव्य ठान्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
अठारौँ गणतन्त्र दिवस, २०८२ का अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले मुलुकमा विद्यमान सबैखाले चुनौतीहरूको समाधान दलीय स्वार्थबाट माथि उठेर गर्न जरूरी रहेको र यसमा नेतृत्व वर्गको भूमिका महत्वपूर्ण हुने धारणा राखे ।
लोकतान्त्रिक शासन व्यवस्थालाई बलियो बनाउने, आमनागरिकको आवाज सुन्ने र सुशासन स्थापित गर्ने आफ्नो दायित्व र कर्तव्यबोधका साथ दलहरूले जिम्मेवारी निर्वाह गर्न सक्नुपर्ने उपराष्ट्रपति यादवको भनाइ छ ।
उपराष्ट्रपति यादवले सङ्घीयता, समावेशिता र समानतालाई संस्थागत गर्दै संविधानले निर्वाचन प्रणाली, लोकतान्त्रिक शासन व्यवस्था, मौलिक अधिकार र प्रेस स्वतन्त्रतालाई प्रभावकारी रूपमा आत्मसात् गरेको उल्लेख गरे ।
आमनागरिकको विश्वास आर्जित गर्र्न, राजनीतिक स्थिरता कायम राख्न र मुलुकको आर्थिक–सामाजिक उन्नतिलाई मूल विषय बनाएर अघि बढ्न ढिलाइ गर्न नहुने बताउँदै उनले राजनीतिक दल र तिनका नेतृत्वले स्वच्छ शासन व्यवस्था, पारदर्शिता र राजनीतिक उत्तरदायित्व निर्वाहमा चुके लोकतन्त्र कमजोर हुन सक्ने पनि बताए ।
उपराष्ट्रपति यादवले गणतन्त्र शासकीय शक्ति जनताको हातमा हुने महत्वपूर्ण राजनीतिक प्रणाली भएको र जनताद्वारा निर्वाचित जनप्रतिनिधिहरूमार्फत सरकारको नेतृत्व गर्दै जनताप्रति आफ्नो जिम्मेवारी निर्वाह गर्नु नै गणतन्त्रको मूल मर्म भएको उल्लेख गर्दै जनादेश, मतादेश र संविधानप्रदत्त व्यवस्थाअनुरूप सबै एक ढिक्का र एकीकृत भई अघि बढ्न सके मात्र नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था सबल, सुदृढ र बलियो हुनसक्ने बताए ।
प्रतिक्रिया