मंगलबार, जेठ २१, २०८२

‘संविधानको रक्षा र गणतन्त्रात्मक शासन प्रणालीको संस्थागत विकासमार्फत मात्रै समृिद्ध हासिल गर्न सकिन्छ’

नेपालखोज २०८२ जेठ १६ गते ९:०६

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको संस्थागत विकासमार्फत मात्र समुन्नत, सभ्य र समृद्ध नेपाल निर्माण गर्न सकिने उल्लेख गरेका छन् ।

आज गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै उनले नेपाली जनताको बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धिको रक्षा गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका ।

सभापति देउवाले समावेशी लोकतन्त्र, सामाजिक न्याय, समता र समृद्धिको मार्गमा अग्रसर हुँदै दिवसले सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वाससमेत व्यक्त गरेका छन् ।

उनले लोकतन्त्रको संरक्षण र संवर्द्धनका लागि योगदान गर्ने सबैमा उच्च सम्मान प्रकट गरेका छन् । विसं २०६२/६३ को जनआन्दोलनको ऐतिहासिक सफलतापछि कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले संविधानसभाको निर्वाचन सम्पन्न गरेको थियो ।

त्यसैको परिणामस्वरुप, २०६५ साल जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट राजतन्त्रको औपचारिक अन्त्य गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गरिएको थियो । यो ऐतिहासिक दिनलाई प्रत्येक वर्ष ‘गणतन्त्र दिवस’का रूपमा गौरवका साथ मनाइँदै आइएको छ । -रासस

प्रतिक्रिया