अन्तर्राष्ट्रिय सगरमाथा दिवसमा प्रभातफेरी, मन्त्री पाण्डेले भने- सगरमाथा विश्वको गौरव हो

काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सर्वोच्च शिखर सगरमाथाप्रति विश्वले गौरव गर्ने बताएका छन् । बिहीबार ७२ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा वसन्तपुरमा आयोजित कार्यक्रममा मन्त्री पाण्डेले सगरमाथाको संरक्षण र प्रवद्र्धनमा सचेतना अभिवृद्धि गर्दै विश्वभरका पर्यटनलाई नेपालमा आकर्षण गर्न सबै सक्रिय भएर लाग्नुपर्नेमा जोड दिएका छन् ।
सगरमाथा दिवसकै अवसरमा हनुमानढोका खुला भएको पनि मन्त्री पाण्डेले जानकारी गराएका छन् । सगरमाथा दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गरी भव्य रुपमा मनाइएको छ । दिवसको अवसरमा बिहीबार बिहान प्रमुख पर्यटकीय क्षेत्र ठमलेमा प्रभातफेरी आयोजना गरियो । कर्मचारी सञ्चयकोष ठमेलबाट सुरुभएको झाँकी, ब्याण्डबाजासहितको ¥याली वसन्तपुर पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो ।
र्यालीमा पर्यटनमन्त्री पाण्डे, निमित्त पर्यटन सचिव इन्दु घिमिरे, पर्यटन विभागका महानिर्देशक नारायण रेग्मी , नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपकराज जोशी तथा निजी क्षेत्रका पर्यटन व्यवसायीहरुको छाता सङ्गठनका प्रतिनिधि, सरकारकी कर्मचारी, सुरक्षा निकायलगायत सर्वसाधकरणको उल्लेख्य उपस्थिति थियो ।
यससँगै नेपाल पर्यटन बोर्ड परिसरमा रहेको तेञ्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीको पूर्णकदको शालिकमा नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐर, वरिष्ठ प्रबन्धक उदय भट्टराईले माल्यापर्ण गरेका हुन् । सन् १९५३ मे २९ तारिखका दिन नेपाली तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमन्ड हिलारीले पहिलो पटक सगरमाथाको शिखरमा पाइला टेकी विश्वलाई मानवीय साहस र क्षमताको ऐतिहासक परिचय दिएका थिए ।
अन्तर्राष्ट्रिय सगरमाथा दिवसलाई भव्य रुपमा मनाउन पर्यटनमन्त्रीको अध्यक्षतामा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मूल समारोह समिति गठन गरिएको छ । दिवसको अवसरमा आज विहान प्रभातफेरीसहित वसन्तपुरमा औपचारिक क्रार्यक्रम गरियो भने दिउँसो दिवस मूल समारोहसमितिले ‘वल्र्ड समिटर्स समिट’ कार्यक्रमको आयोजना गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा हुने समारोहमा कीर्तिमानी आरोहीका अनुभव आदन–प्रदानका साथै साहसिक पर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनले हिमालमा पारेको प्रभाव न्यूनीकणबारे बहस हुनेछ । यससँगै विभिन्न कीर्तिमानी आरोहीलाई सम्मान गरिने कार्यक्रम छ ।
प्रतिक्रिया