साइप्रसले सिरियाली शरणार्थीलाई स्वदेश फर्कनका सहयोग गर्ने

निकोसिया । साइप्रसले आफ्नो शरणको दाबी खारेज गरेका सिरियाली परिवारका लागि स्वदेश फिर्ती योजना सुरु गर्ने भएको छ । उसले एक वयस्क सदस्यलाई साइप्रसमा बस्न र काम गर्न अनुमति दिने र बाँकी सदस्यलाई स्वदेश फिर्ता गर्न आर्थिक रूपमा प्रोत्साहन (सहयोग) गर्नेछ ।
आप्रवासन मन्त्री निकोलस आयोनिडेसले आगामी महिनाबाट सुरु हुने आर्थिक प्रोत्साहन सिरियामा शरण लिन चाहने परिवार वा अन्तर्राष्ट्रिय सुरक्षा प्राप्त व्यक्तिका लागि स्वेच्छिक रूपमा स्वदेश फिर्तीका लागि हुने बताएका छन् ।
युरोपेली सङ्घसँगको समन्वयमा यो योजना सुरु गर्न लागिएको उनले सञ्चारकर्मीलाई बताए । ईयू सदस्य साइप्रसले सिरियाली आप्रवासीको सबैभन्दा ठूलो हिस्सालाई शरणार्थीका रूपमा स्वीकारेको छ ।
गत डिसेम्बरमा बशर अल असदलाई सत्ताच्युत गरेपछि सिरिया ‘गम्भीर संक्रमणकालबाट गुज्रिरहेको’ आयोनिडेसले उल्लेख गरेका छन् । ‘पुनःर्निर्माणको सफलता राजनीतिक इच्छाशक्ति, अन्तर्राष्ट्रिय सहयोग र सबैभन्दा महत्त्वपूर्ण कुरा सिरियाली जनता स्वयंको सक्रिय संलग्नतामा निर्भर गर्दछ,’ उनले भने ।
साइप्रसका अधिकारीहरुका अनुसार दुई हजार ५०० सिरियालीले शरणका लागि आवेदन फिर्ता लिएका छन् वा आफ्नो सुरक्षाको दर्जा त्यागेका छन् भने करिब दुई हजार ४०० जना स्वदेश फर्केका छन् । प्रत्यावर्तन योजनाले प्रति परिवार वा दम्पती एक जनालाई दुई वर्षको लागि मान्य हुने विशेष आवास र काम गर्ने अनुमति दिन्छ ।
स्वदेश फर्कने परिवारका सदस्यले पति वा पत्नीका लागि दुई हजार युरो (दुई हजार २७० अमेरिकी डलर) र प्रतिबच्चा एक हजार युरो पाउनेछन् । यो योजना जुन २ देखि अगष्ट ३१ सम्म सञ्चालन हुनेछ ।
साइप्रसले सन् २०११ मा सुरु भएको गृहयुद्धबाट भागेका हजाराैं सिरियालीलाई शरण दिएको छ । पूर्वी भूमध्यसागरीय टापु सिरिया र लेबनानी तटबाट २०० किलोमिटर (१२५ माइल)भन्दा कम दूरीमा छ र लामो समयदेखि युरोपमा राम्रो जीवन बिताउन चाहने शरणार्थीहरूको लागि एक मार्ग हो । -रासस/एएफपी
प्रतिक्रिया