बाख्राको दूधबाट चिज बनाएर आम्दानी गर्दै गुरुङ

वालिङ (स्याङ्जा) । यहाँका एक किसानले बाख्राको दूधबाट चिज बनाएर आम्दानी गर्न थालेका छन् । भिरकोट नगरपालिका–८ ओकादीका डिलबहादुर गुरुङले सानन जातको बाख्राको दूधबाट बनाएको चिज बिक्रीबाट लाखौँ आम्दानी गरिरहेका हुन् । उनले विसं २०७० मा ‘जुना बाख्रापालन फर्म’ दर्ता गरी व्यवसाय सुरु गरेका थिए ।
पछिल्लो समय गुरुङले दूधबाट चिज उत्पादन गरिरहेका छन् । यहाँ अन्य किसानले पनि गाईभैँसीको दूधबाट चिज उत्पादन गरिरहेका बेला ओकादीका गुरुङले भने जिल्लामै पहिलो पटक बाख्राको दूधबाट चिज उत्पादन गरेका हुन् । गुरुङको फर्ममा हाल सानाठूला गरी ५२ वटा बाख्रा छन् ।
यी स्थानीय खरी जातको माउ र विदेशी सानन जातको बोकाबीचमा क्रस गराइएका बाख्राहरू हुन् । तीमध्ये १६ वटाले करिब १० लिटर दूध दिन्छन्, त्यसबाट दैनिक डेढ केजीसम्म चिज उत्पादन हुने गरेको छ । यसरी दिनहुँ उत्पादन हुने चिजलाई हरेक साताको एकदिन बजारीकरण गरिरहेको गुरुङले जानकारी दिए । यहाँ उत्पादन भएको चिज पोखराका ठूला होटलहरूमा बिक्री गरिरहेको छु । प्रतिकेजी दुई हजारका दरले चिज बिक्री हुने गरेको छ ।
सुरुमा केही समस्या भए पनि पछिल्लो केही महिनायता मासिक १५० केजी चिज बिक्रीबाट तीन लाखसम्म आम्दानी गरिरहेको छु, उनले भने,चिजको माग उच्च छ, पुर्याउनै सकिएको छैन । उत्पादन वृद्धि गर्नका लागि दुधालु बाख्रा थप्ने तयारीमा छु । बाख्राको दूधबाट चिज बनाउने सीप गुरुङले तनहुँको बन्दीपुरमा सिकेका थिए । त्यहाँ सिकेको सीपलाई घरमै प्रयोगात्मक अभ्यास गर्दै उनी व्यावसायिक उत्पादन गर्न थालेको बताए ।
हाल उत्पादन भएको चिजलाई थप गुणस्तरीय बनाउने, प्याकेजिङ सुधार र ब्रान्डिङ गर्ने काम भइरहेको गुरुङले बताए । विगतमा भारतमा वायरिङसम्बन्धी काम गर्दै आएका गुरुङ अरूको भन्दा फरक व्यवसाय गर्ने सोचसहित स्वदेश फर्किएका थिए । त्यही सोचका साथ विसं २०७० मा १२ वटा बाख्राबाट यो व्यवसायको जन्म भएको हो । बाख्रा खरिद तथा खोर निर्माणमा रु तीन लाख ५० हजार लगानी गरेको थिए ।
युवाहरूका लागि नमूना बाख्रा गाउँ अभियानमा जोडिएर अगाडि बढेको थिए हाल महिनामै सुरुको लगानी जसत आम्दानी गरिरहेको छु, गुरुङले सुनाए । नमूना बाख्रा गाउँ अभियानका अध्यक्ष सुशील अर्याल गुरुङले गरिरहेको काम फरक र अन्य युवाका लागि पनि अनुकरणीय रहेको बताए ।
प्रतिक्रिया