शनिबार, जेठ १८, २०८२

एचआइडिसियलका प्रमुख कार्यकारी अधिकृत थापाले लिए शपथ

नेपालखोज २०८२ जेठ १७ गते १६:२७

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसियल)को प्रमुख कार्यकारी अधिकृत प्रजेशविक्रम थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । एचआइडिसिएलको बिहीबारको सञ्चालक समितिको बैठकले कम्पनीको सिइओमा नियुक्त भएका प्रमुख कार्यकारी अधिकृत थापाले आज ऊर्जा मन्त्रालयमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको उपस्थितिमा शपथग्रहण लिएका हुन् ।

उनलाई कम्पनीका अध्यक्ष एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्यले शपथग्रहण गराएका हुन् । नवनियुक्त सिइओ थापा मेकानिकल इञ्जिनियर हुन् । उनलाई चार वर्षको कार्यकालका लागि नियुक्त गरिएको हो । पाँचजना उम्मेदवारमध्ये अन्तिम प्रस्तुति तथा अन्तर्वार्ताबाट छनोट गर्दै थापालाई कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो । त्यस अवसरमा ऊर्जामन्त्री खड्काले निश्चित लक्ष्य र उद्देश्य लिएर स्थापना भएको उक्त संस्थाले सरकारले लिएको ऊर्जा विकासको लक्ष्यलाई पूरा गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

जलविद्युत् क्षेत्रमा आउने लगानीलाई एचआइडिसिएलले आफ्नो कम्पनीमार्फत लगानी गर्नेगरी कार्ययोजना बनाएर अगाडि बनाउनुपर्ने बताए । एचआइडिसिएल सरकारी संस्था भएकाले २५ मेगावाटभन्दा ठूला आयोजनामात्र नभई समस्यामा परेका साना जलविद्युत् आयोजनालाई पनि वित्तीय सहयोग गर्नुपर्ने मन्त्री खड्काले बताए ।

सचिव आचार्यले सरकारले राखेको ऊर्जा विकास मार्गचित्रको लक्ष्यलाई पूरा गर्न एचआइडिसिएलको भूमिका महत्वपूर्ण हुने बताए । उनले समयअनुसार संस्थाको ऐन, कानुनलाई परिमार्जन गर्दै अगाडि बढ्नुपर्ने उल्लेख गरे ।

प्रतिक्रिया