शनिबार, जेठ १८, २०८२

मेरो सम्झनामा नाटक ‘अनि देउराली रुन्छ’

नेपालखोज २०८२ जेठ १७ गते १६:४७

बाल्यकालमा हेरेको ‘अनि देउराली रुन्छ’ नाटक म खुब सम्झन्छु । नाटकको कथावस्तु त निकै कम याद छ । नाटक हेरेपछि डाँफे कला मन्दिरबाट निस्किएको म दाँया मोडिएर हिड्नुपर्ने म राती अध्यारोमा बाँया तर्फ मोडिएर ट्याक्सी चोक बगर तिर पुगेछु । फर्कदा राती म एक्लै हिड्नुपर्दा निकै डराएको थिएँ । यदि शुरुमै दाँया मोडिएको भए मेरो घर तर्फ फर्कने धेरै भेटिने थिएँ ।

दोलखा जिल्लाको ग्रामिण भेगको कथावस्तु बोेकेको ‘अनि देउराली रुन्छ’ खासमा रणधोज खड्काको कथा हो । बृद्ध रणधोजले छोरी मैयाको विवाहका लागि गाउँकै सामन्ती पाँडेकाजीसंग सयकडा पैतिस ब्याजमा लिएको ऋण भाखामा तिर्न नसके घरवारी, गाइवस्तु सबै पाँडेकाजीलाई सुम्पिने कागज गरेका हुन्छन् । मैयाको विवाह बहादुरेसंग हुने तय हुन्छ । तर विवाहको रात नै शम्शेरले मैयालाई भगाएर लैजान्छ । जन्ति लिएर आएका बहादुरे खालि नफर्कने जिद गरेपछि बाबु रणधोजले अर्की छोरी जुनालाई बहादुरेका साथ अन्माएर पठाउँछे ।

अम्बरेसंगको प्रेममा परेकी जुनाको विवाह बाध्यताले बहादुरेसंग भएपनि आफ्नो भाग्य सम्झेर बाँचेकी जुना रक्स्याहा बहादुरेको कुटाइ दिन दिनै खान बाध्य हुन्छ । कसैगरि अम्बरेले जुनाको विवाह बहादुरेसंग भएको थाहा पाए पछि गुपचुप भेट्न थाल्दछ । बहादुरेले थाहा पाएपछि अम्बरे र बहादुरे बिच द्वन्द शुरु हुन्छ । अन्तमा अम्बरेले बहादुरेलाई मारेर मुग्लान भासिन्छ ।

जुनासंग विवाह गर्न पाएमा रणधोजको ऋण तिरिदिने बचन दिएका अम्बरे जुनाको पतिकै हत्या गरेर मुग्लान पसेपछि रणधोज पनि ऋण तिर्न नसकेर आफ्नो घरवारी छोड्न बाध्य हुन्छ । पतिको हत्या प्रेमिबाट भएपछि माइत बसेकी छोरी जुना र बाबु रणधोज घरवार त्यागेर अज्ञात यात्रामा निस्कन्छन् । कथा यहिँ सकिन्छ । कथा यति कारुणिक लाग्छ कि यसमा रहेका गीत संगीतले हरकोही दर्शकको आँखा भरिन्छ ।

नाटकको शुरु भएको केही समय पछि नै नाटकको एक पात्र गाइनेले सारङ्गी रेट्दै गाएको गीत ‘सारङ्गीको तारले मेरो मनको गीत गाउँछ’ ले मनोरञ्जन दिन्छ । गाइनेको पिडा बोकेको यो गीत पछि मैयाँको विवाहको रमाइलो क्षणमा देउरालीको ठिटी हो नक्कली पार्नु पर्दैन गीतले जन्ती र बेहुलीका घरको दोहोरी रमाइलो लाग्छ ।

अन्तमा दुलही मैयाँ शम्शेरसंग भागेपछि बहादुरेसंग छोरी जुनालाई अन्माएर पठाउँदा पृष्ठभूमीमा

‘हे फूल चुँडेर लाने हो, यहाँ माली रोएको देख्यौ के

खुशी मिलनमा मनाउने हो, यहाँ बिछोड भएको देख्यौ के’

गीतले छोरी अन्माउँदै गरेका रणधोजका आँखामात्रै भरिदैन । दर्शक सबैका आँखा भरिन्छ ।

यो तस्विर भने तत्कालिन समयका पोखरेली युवा जमातले “अनि देउराली रुन्छ”का समुहलाई सम्मान गर्दाको हो । यहाँ त्यस नाटकका लेखक तथा निर्देशक मनबहादुर मुखिया दाजु पनि बायाँ तर्फ आसकोट र कालो चश्मामा देख्न सक्नुहुन्छ । सबैभन्दा पछाडि दायाँबाट दोश्रो भने डाँफे कला मन्दिरका प्रवर्तक एवं नाटक पोखरासम्म ल्याउन भूमिका खेल्नुहुने डाँफे बाजे अर्थात क्याप्टेन मिनबहादुर गुरुङलाई पनि देख्न सक्नुहुन्छ । बाकी त पोखराका त्यस

समयका जल्दाबल्दा युवाहस्तीहरु हुनुहुन्छ ।

प्रतिक्रिया