आइतबार, जेठ १९, २०८२

गाजामा स्वास्थ्य सामाग्री लुटिएको घटनाप्रति राष्ट्रसङ्घद्वारा दु:ख व्यक्त

नेपालखोज २०८२ जेठ १८ गते १५:५६

काठमाडौं । संयुक्त राष्ट्र सङ्घले शुक्रबार गाजाको प्यालेस्टिनी क्षेत्रका गोदामहरूमा आक्रमण गरी ठूलो मात्रामा चिकित्सा सामाग्री चोरी गरेको घटनाप्रति दु:ख व्यक्त गरेको छ ।

आक्रमणकारीको समूहले अस्पतालको गोदामहरूमा आक्रमण गरी ठूलो मात्रामा चिकित्सा उपकरण, आपूर्ति, औषधि र पोषणजन्य सामाग्रीको नष्ट गरेको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसका प्रवक्ता स्टेफन डुजारिकले बताएका छन् ।

चोरी गरिएको सहायता सामाग्री युद्धग्रस्त गाजामा एक दिन अघि मात्रै आइपुगेको उनले बताएका छन् । गाजा अवस्था अझ बिग्रँदै जादाँ सार्वजनिक व्यवस्था र सुरक्षा व्यवस्था कमजोर हुनाले गाजामा लुटपाटका घटनाहरू बढेको समेत उनले बताए ।

लामो नाकाबन्दीपछि इजरायलले प्यालेस्टिनी क्षेत्रमा सहयोगको अनुमति दिन थालेको छ । नाकाबन्दीले खाद्यान्न र औषधिको अभाव निम्त्याएपछि अहिलेसम्म उपलब्ध सहायता गाजाको आवश्यकताको ‘समुद्रमा एक थोपा“ मात्र भएको उनले बताए ।

संयुक्त राष्ट्रसङ्घको मानवीय निकाले शुक्रबार शतप्रतिशत जनसङ्ख्या अनिकालको जोखिममा रहेको चेतावनी दिएको थियो ।

गाजाको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार यस क्षेत्रमा इजरायली आक्रमणमा परी अहिलेसम्म ५४ हजार ३२१ जनाको ज्यान गएको छ । युद्धले गाजालाई ध्वस्त पारेको छ र मारिनेमा अधिकांश महिला बालबालिकासहित सर्वसाधारण रहेका छन् ।

यसले क्षेत्रको ठूलो भाग भग्नावशेषमा परिणत गरेको छ, अस्पताल, विद्यालय, आवासीय क्षेत्र र सडक र जलमार्गको आधारभूत पूर्वाधार नष्ट गरेको छ ।

एएफपीका अनुसार सन् २०२३ अक्टोबर-७ मा हमासले गरेको आक्रमणको प्रतिक्रियामा इजरायलले आफ्नो आक्रमण सुरु गरेको थियो ।

डुजारिकले बिहीबार, राष्ट्रसङ्घ र मानवीय साझेदारले केरेम शालोमको सीमाबाट पाँचवटा देइर अल-बलाह अभियान अस्पतालका लागि चिकित्सा सामग्री बोकेका ट्रकहरू पठाएको र अन्य ६० वटा ट्रक सीमाबाट फर्कनु परेको बताए ।

प्रतिक्रिया