सोमबार, जेठ २०, २०८२

नमूना भेटेरिनरी अस्पताल निर्माण सुस्त गतिमा

नेपालखोज २०८२ जेठ १९ गते ५:४२

तनहुँ । व्यास नगरपालिका–३ दमौलीस्थित ‘नमूना भेटेरिनरी अस्पताल’ भवन निर्माण कार्य सुस्त गतिमा भइरहेको छ । अठार महिनामा पूरा गर्नेगरी २०७८ भदौमा सम्झौता भए पनि उक्त भवन अझै निर्माण सम्पन्न हुन सकेको छैन ।

निर्माण कम्पनीले ढिलासुस्ती गरेका कारण सम्झौताअनुरुप काम सम्पन्न हुन नसकेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।

गण्डकी प्रदेश सरकारबाट पहिलो चरणमा कास्की र तनहुँमा नमूना भेटेरिनरी अस्पताल निर्माणका लागि छनोट गरेको थियो । एकैसाथ निर्माणकार्य थालेको कास्कीको नमूना अस्पताल निर्माण सम्पन्नपछि सेवा प्रवाह दिन थालिसकेको छ ।

पहिलोपटकको सम्झौता म्यादभित्र निर्माणकार्य सम्पन्न गर्न नसकेपछि दोस्रोपटक म्याद थप गरिएको प्रमुख वरिष्ठ मत्स्य विकास अधिकृत रविनसन अधिकारीले जानकारी दिए । उनले भने, ‘उक्त अवधिमा पनि सम्पन्न नभएकाले तेस्रोपटक म्याद थपको प्रक्रिया अघि बढाइएको छ ।’ गण्डकी प्रदेश सरकारको रु चार करोड ९० लाख ८३ हजारको लागतमा भवन निर्माण गर्न सम्झौता भएको थियो ।

‘हालसम्म ७० प्र्रतिशत भौतिक र ५२ प्रतिशत वित्तीय काम भएको छ’, कार्यालय प्रमुख अधिकारीले भने । पशुपन्छीपालक किसानलाई सहज रूपमा सेवा प्रवाह गर्न सुविधासम्पन्न भवन निर्माण अघि बढाइएको हो ।

तनहुँसहित गोरखा र नवलपुर गरी तीन जिल्लाका किसानले यस अस्पतालबाट लाभ लिन सक्ने छन् । अस्पतालमा शल्यक्रिया, थेरापी, सघन उपचार कक्ष, यएसजी सेवा र दुई प्रयोगशालासहित २३ कोठा छन् । -रासस

प्रतिक्रिया