सोमबार, जेठ २०, २०८२

सहकारी अपचलनसँग सम्बन्धित चलचित्र ‘महाभोज’ प्रदर्शन हुँदै

नेपालखोज २०८२ जेठ १९ गते १५:१३

काठमाडौं । सहकारी अपचलनसम्बन्धी कथामा आधारित चलचित्र ‘महाभोज’ यही जेठ ३० गतेदेखि देशभर प्रदर्शन हुनेभएको छ । निर्देशक दिनेस राउतका अनुसार यसअघि यही जेठ १५ गते प्रदर्शन गर्ने निर्णयसहित प्रचारप्रसार भए पनि सहकारीसम्बद्ध सङ्घ-संस्था र पीडितको नाममा सहर कन्द्रित विरोध कार्यक्रम हुन थालेपछि रोकिएको सो चलचित्र जेठ ३० गते प्रदर्शन हुने भएको हो ।

सहकारी पीडितको आन्दोलनका कारण मुलुकमा असहज परिस्थिति सिर्जना भइरहेको अवस्थामा सोही विषयमा निर्माण गरिएको चलचित्र प्रदर्शन गर्दा थप समस्या आउन सक्ने विश्लेषणसहित निर्माण समूह, वितरक र प्रदर्शकसँगको छलफलपछि नयाँ मिति तय गरिएको चलचित्रका निर्देशक राउतले स्पष्ट गरे ।

देशको बदलिदो अवस्थाका कारण केही दिनलाई प्रदर्शन रोक्दै नयाँ मिति घोषणा गरेका हौँ । चलचित्र हेर्न आउने दर्शकको सुरक्षालाई ख्याल गरी उक्त कदम उठाउन बाध्य भएका थियौँ । यद्यपि पछिल्लो केही दिनको अवस्था हेरेपछि हामी चलचित्र प्रदर्शन गर्न सक्ने अवस्थामा छौँ, महाभोज चलचित्र यही जेठ ३० गतेदेखि प्रदर्शन हन्छ, उनले भने ।

सो चलचित्रमा अभिनेता दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल, मोहन निरौलालगायतका कलाकारले अभिनय गरेका छन् । सहकारीको नाममा ठगिएका सर्वसाधारणको पीडा, राजनीतिक पहुँचको आडमा गरिएको दुरुपयोग र सामाजिक असमानताका विषयवस्तुलाई सशक्त रूपमा उठाइएको चलचित्रको कथा विकास सुवेदीले लेखेका हुन् । उक्त चलचित्रलाई ‘क्लकवर्क क्रियसन’ र ‘पिक्चर फ्रेम’ ले संयुक्त रूपमा निर्माण गरेको हो ।

प्रतिक्रिया