वरिष्ठ साहित्यकार रसिकको निधन

काठमाडौं । वरिष्ठ सर्जक गणेश रसिकको ७८ वर्षको उमेरमा आज निधन भएको छ ।
ललितपुरको हरिशिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा प्रोस्टेट क्यान्सरको उपचार गराइरहेका उनको आज बिहान ११ बजे निधन भएको सङ्गीतकार बुलु मकारुङले जानकारी दिए ।
उनका अनुसार रसिककी छोरी बेलायतबाट फर्किएपछि रसिकको दाहसंस्कार गरिने छ । उनको पार्थिव शरीर अहिले महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको छ ।
भोजपुर छिनामाखुमा विसं २००४ असोज ४ मा जन्मिएका रसिक पचासको दशकमा इलाम सरेका थिए । करिब पाँच दशकअघि ‘लेकाली’ समूहबाट गायन क्षेत्रमा आएका रसिकले कवि, गीतकार, सङ्गीतकार, लेखक, निबन्धकार र नियात्राकारका रुपमा परिचय बनाएका थिए ।
उनका सारङ्गीभित्र कथासङ्ग्रह, गणेश रसिकका गीतहरु, आकाश गंगाको ओतमुनि, दशगजामा उभिएर, जब सिस्नोहरु टेक्दै हिँडेलगायतका कथा, कविता, निवन्ध, नियात्रा र संस्मरणसहित एक दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।
उनका छोरा र श्रीमतीको यसअघि नै निधन भइसकेको छ । हटेर होइन, डटेर लड्ने नेपालीको बानी हुन्छ, तराई हेर कति राम्रो हरियो वन हुनाले, मेरो टाउको सानो छ, यो टाउको विशाल देश छ, रातो भाले क्वाँए क्वाँएजस्ता राष्ट्रिय र लोकगीत गाएका थिए । उनका केही रचना विद्यालयका पाठ्पुस्तकमा समावेश छ ।
साहित्यकार रसिकले रत्न रेकर्डिङ संस्थान र साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक, सांस्कृतिक संस्थानको महाप्रबन्धक, नेपाल नाट्य तथा सङ्गीत प्रज्ञा प्रतिष्ठानको सदस्य सचिवको जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त गरेका थिए ।
प्रतिक्रिया