मंगलबार, जेठ २१, २०८२

सिथि नखःको शुभकामना

नेपालखोज २०८२ जेठ १९ गते १९:१०

आज जेठ १८ गते जेष्ठ शुक्ल पक्षको षष्ठी तिथि । आजको दिन नेवा: समुदायमा अधिकांशले सिठी (सिथि) नख: को रुपमा कूल (दिगू) पूजा गरेर मनाउने परम्परा रहदै आएको छ । धार्मिक रुपले आजको दिनलाई जे जसरी मनाउँदै आएको भए तापनि सामाजिक रुपमा नेवा:हरु यस दिन अप्रत्यक्ष रुपमा पर्यावरण दिवस तथा पानी दिवसको रुपमा सयौं वर्षदेखि मनाउँदै गरेको हामी पाउँछौ । साथै प्रकृति पूजक भएको हुँदा पनि प्रकृतिलाई पूज्न थालेको मान्न सक्दछौं ।

आजको दिन पानीको मुहानका रुपमा रहेको कलधारा, ढुङ्गेधारा, इनार, चोक लगायत आफ्नो वरपर रहेका स्थानहरु सफासुग्घर गर्ने परम्परा रहदै आएको छ । यो भनेको पर्यावरण प्रति त्यो समयको समुदायको गहन सोचको परिणाम हो । दोश्रो सिथि नखःको आगमन भनेको मनसुन आउँदैछ भन्ने संकेत दिने पर्व पनि हो । प्राय मनसुनको आगमन सिथि नखःको केही दिनको अन्तरमा नै नेपालमा आउने गर्दछ । यहिँ कारणले नियमित पानी पर्नु अगाडि टोलका सबै मिलेर नाली, कुवा, इनार, धारा, पोखरी, ल्हो हिटि आदिको सरसफाइ गर्ने गरिन्छ ।

राजा गुणकामदेव पहिलोको शासनकाल देखि मान्न थालिएको सिथि नख: एक प्रकारले सिथि जात्राको रुपमा मनाउने गर्दथे । गुणकामदेवले अहिलेको कंग अजिमा रहेको विष्णुमती किनारमा जात्रा मनाउने प्रचलनको थालनी गरेका थिए । यस जात्रामा पारिवारिक रुपमा भेला भएर मनाउने गर्दथे । यो जात्रामा एक अर्कोसंग झगडा पनि जात्राको अभिन्न अंग हुने गर्दथ्यो । ढुङ्गा हानेर रमाइलोको लागि गरिने झगडा बिस्तारै डरलाग्दो सम्म हुने गर्दथ्यो ।

काठमाडौ उपत्यकाको उत्तर तिरको र दक्षिण तिरका बासिन्दाहरुको सिथि जुझ भयावह भएर मारकाट पनि हुन थाले पछि राजा जयप्रकाश मल्लले जात्रा मनाउन प्रतिबन्ध नै लगाइ दिएका थिए । यस पछि पृथ्वीनारायण शाहले उपत्यकामा विजय हासिल गरिसके पछि पून काठमाडौ उपत्यकाका नेवा:हरुले सिथि जात्रा तथा सिथि जुझ मनाउन थाले ।

अहिलेको कंग अजिमाको मन्दिर नजिकै विष्णुमती किनारमा जात्रा लाग्ने गर्दथ्यो । दिगू पूजा गर्न आउनेहरुको जमात जात्रा धुमधामसंग मनाए पछि रमाइलो अचानक झगडामा परिणत हुने गर्दथ्यो र एक अर्कोलाई ढुङ्गा हान्दथे । शुरुमा त यो जात्रामा लडाइ झगडा खासै डरलाग्दो भएन । तर पछि बिस्तारै झगडा भयावह हुन थाल्यो । सिथि जुझ यति डरलाग्दो हुन थाल्यो कि जब कोही बिपक्षीको चंगुलमा फस्दथ्यो । त्यसलाई कंकेश्वरीमा बलि चढाइन्थ्यो ।

यसरी हुने झगडा चर्किदै जाँदा यसरी भयानक र डरलाग्दो यस झगडा देखेपछि जङ्गबहादुरले राजा सुरेन्द्रको लाहा छाप लगाएर जात्रा माथि नै बन्देज लगाउँदै कानुन बनाएँ । जसका अनुसार यदि कोही सिथि जुझ (युद्ध) गरे भने उनिहरु प्रत्येकलाई अढाइ रुपैया जरिवाना गर्ने तथा जरिवाना रकम बुझाउन नसकेमा १५ दिन कैद गर्ने कानुन नै बनाए ।

साथै जङ्गबहादुरले यो कानुन तीनै उपत्यकाका बासिन्दाहरुका लागि लगाएका थिए । साथै जङ्गले त्यसै बेला अर्को कानुन पनि पारित गरेका थिए । यदि कोही उपत्यकाको चार दिशामा रहेको मन्दिर तथा घाटहरुमा धनुकाढ, तरवार, खुकुरी, ढुङ्गा, इँटा, घुयेत्रो प्रयोग गरि झगडा गरेको भेटिएमा पनि अढाइ रुपैया दण्ड लगाइनेछ । साथै जरिवाना बुझाउन नसकेमा १५ दिन कैद राखिनेछ ।

सिठि जुझको

१. अब उप्रांत तिन शहर नेपाल षाल्डामा सिठि जुझ कसैले नषेलनु । अन भया पछि कसैले सिठि जुझ षेल्यो भन्या षेलन्यालाइ जनहि २।। रुपैया दंड गर्नु रुपैया नतिर्या अन बमोजिम कैद गर्नु

२. पूर्व पश्चिम उत्तर दक्षिण चारोतर्फ देउमाडो र घटवारमा धनु काढ तरवार षुकुरिले र ढुंगो झटारो घुग्यात्रोले हानाहान गरि जुझ षेलथ्या । अब उप्रांत उर्दि भया पछि कसैले षेल्यो भन्या षेल्न्यालाइ २।। रुपैया दंड गर्नु । रुपैया नतिर्या दिन १५ कैद गर्नु ।

सिथि नखः

सिथि नखः वास्तवमा कूलदेवताको पूजा गर्ने बिशेष दिन पनि हो । यस दिन सपरिवार एकसाथ मिलेर आफ्नो कूलदेवताको पूजा गरेर प्रसाद बाँडेर खाने गर्दछन् । नेवाः समुदायमा बलि प्रुथा रहेको हुँदा पनि यस दिन दुगु (निख्खर कुनै पनि खोट नभएको कालो बोका) बलि दिएर पूजा गरेर एकै कूलका सकेसम्म सबै एकसाथ बसेर भोज खाने गरिन्छ ।

यसरी पूजा गर्दा रक्सी समेत प्रसादका रुपमा रहने हुँदा प्राय दाजुभाइहरु सानो सानो कुरामा पनि निहुँ खोजेर झगडा गर्ने समेत हुन थाले पछि परिवार एकसाथ पूजा गर्ने प्रचलन बिस्तारै घट्दै गएको पनि देखिन्छ ।

हामी उलकहरुको खलक र कायस्थ खलकको कूलदेवता भक्तपुर कमल बिनायकमा एकै ठाउँमा हुने गरेको छ । उलकहरुको पूजा सकिनासाथ कायस्थ खलकहरुले पूजाको तैयारी गर्ने गर्दछन् । उलकहरुको पूजामा कूल देवतालाई सबै चढाइ सके पछि केही समय सो पूजा सामग्री त्यसै छोडिन्छ ।

कागले पूजा स्थलबाट केही जुठो गरेपछि मात्र पूजा उठाउने चलन रहेको छ । जसलाई नेवाः भाषामा क्वः चिप थिकेगु भन्ने गरिन्छ । कागलाई कूलदेवताको प्रतिक मान्ने भक्तपुरमा अन्य परिवारहरु पनि छन् । कतिपयले कागको प्रतिकका रुपमा पितलको काग पनि बनाएर पूजास्थलमा राख्ने गर्दछन् । साथै कागका लागि भनेर छुट्टै थालीमा सामग्री राख्ने पनि गरेको पाउँछौ ।

दिगू पूजामा आफ्नो सम्पूर्ण परिवारमा अविवाहित छोरी पनि सहभागी गराइन्छ । तर विवाह भएर गएका छोरीहरुलाई भने समाहित गराइदैन । साथै दिगू पूजाका दिन नयाँ भित्रिएको बुहारी तथा नयाँ जन्म भएको छोराछोरीहरुलाई किसली चढाएर भित्राउने गरिन्छ । किसली नचढाए सम्म पूजामा सहभागी गराउन मिल्दैन । पहिले पहिले आफ्नो कूल मर्यादा भन्दा तलका विवाह भएर आएका बुहारीलाई पनि भित्राउने गरिदैनथ्यो । तर अचेल त्यो कतिपय परिवारमा हटिसकेको छ ।

दिगू पूजालाई कसै कसैले दुगु (बोका) पूजा भनेर भन्ने गर्दछन् । तर वास्तवमा देके वनेगु बाट नै दिगू शव्द बनेको भन्ने भनाइ छ । दिगू पूजा अक्षय तृतिया देखि कुमार षष्ठीको बिच कुनै पनि दिन समयानुकुल गर्न सकिन्छ । तर यस अवधी भन्दा अगाडि वा पछाडि गर्न मिल्दैन । वास्तवमा दिगू पूजा गर्दा स्थापना गरेको एक ढुङ्गा मात्र हुने गर्दछ । पुर्खाबाट नै सयौ वर्ष अगाडिबाट स्थापना गरेको आकृति नदिइएको ढुङ्गा नै दिगू द्यः का रुपमा स्थापित हुन्छ ।

तर नेवाःहरुमा हरेक चाडहरु खुशियाली पूर्वक भोजभतेर गरेर नै मनाउने हुँदा दिगू द्यको साथमा साक्षीका रुपमा अर्को एक देवता वा देवीलाई राखेर पूजा गरिन्छ । यसरी पूजा गर्दा बली दिइने गरिन्छ । बली बोका वा हाँसको मात्र दिन मिल्दछ । अन्यको बली दिइदैन ।

बली दिइए पछि नयाँ भित्राइएको दुलही तथा नयाँ जन्म भएर कूलमा थपिएका छोराछोरीलाई दिगू द्यः सामु ल्याएर परिचय गराइन्छ अर्थात चिनाइन्छ । फलाना घरको फलाना छोरासंग विवाह भएर हाम्रो कूलमा भित्रिएकी बुहारी भनिन्छ भने छोराछोरीको हकमा पनि फलानाको छोरा वा छोरीको रुपमा जन्म भएर कूलमा नयाँ थप भएको भनेर किसली सहित भित्राइन्छ । पूजा गरेर दुतनेगु (भित्राउने) र पूजा गर्ने कार्य समाप्त भएपछि सिकाभू को कार्य शुरु हुन्छ ।

सिकाभु

बलि दिएर पूजा गरेको बोकाको टाउकोको बिभिन्न भागलाई जेष्ठ क्रममा दिने कार्यलाई सिकाभु भनिन्छ । सिकाभुको खासमा “सि कायगु भ्वये” को छोटो रुप हो । यो सि कायगु महिलाहरुमा दिइदैन । केवल पुरुष सदस्यमा ठूलो देखि सानोसम्म पालैसंग दिइन्छ । यसमा टाउकोको भागहरु क्रमश ठूला देखि सानामा बाँडिन्छ । दाँया र बाँया आँखा, दाँया र बाँया कान, नाक, जिब्रो, तल्लो र माथिल्लो बङ्गाराको गरि आठ भाग बनाइन्छ । यी आठ परिकार बोकाको शरिरको सबैभन्दा तागत दिने अंगका रुपमा लिने गरिन्छ ।

पहिले पहिले दिगू ख्य (कूलदेवता रहेको स्थान) मानिसको बसोबास रहेको स्थान देखि टाढा डाँडाको पाखा, खोला वा खेतको नजिक हुने गर्दथ्यो । तर समयले ति स्थान आज मानिसको बसोबास बढ्दै जाँदा शहर भित्र पर्न गएको पाउँछौ । जसले गर्दा खुला स्थानको कमि हुन गएको छ । साथै ति ठाउँमा बसोबास गर्ने नयाँ मानिसहरुबाट बिभिन्न खालको समस्या पनि आउने गरेको छ ।

हाम्रो उलकहरुले पूज्ने कूलदेवता पहिले बस्ति देखि टाढा कमलबिनायक नजिकैको खेतको बिचमा थियो । तर अहिले बस्ति बढेर त्यस स्थानमा मानिसको घनाबस्ति भइसकेको छ । हाम्रो कूलदेवता स्थापना गरिएको ठाउँ बाटोको छेवैमा परेको छ । जसले गर्दा नयाँ बस्तिमा बस्नेहरुले बाटो चौडा गर्न समस्या भएको गुनासो गर्न थालेको छ । हाम्रो पुर्खाहरुको भनाइमा कूलदेवतालाई दायाँ बायाँ कतै पनि सार्न मिल्दैन भनिन्छ । तर समस्या वहाँहरुका लागि मात्र होइन हाम्रो लागि पनि भइसकेको छ ।

समय परिवर्तन र ब्यस्तताले गर्दा अचेल कूलपूजा गर्ने क्रममा पनि परिवर्तन आएको छ । जेष्ठ पुरुषमात्रै कूलदेवता स्थानमा पूजा गरेर फर्कने तथा घरमा बसेर समयबजी खाने पनि यदाकदा देखिन्छ । सगोलमा सबै मिलेर एकैठाउँमा पूजा गर्नेहरुको कमि आएको हामी पाउँछौ । दोश्रो बसाइसराइ र कूलदेवता सम्बन्धी ज्ञानको कमिले गर्दा पनि कूलपूजा गर्ने भनेको रक्सी र मासु खाएर झगडा गर्ने दिन जस्तो पनि कतै कतै भएको पाउँछौ । दाजुभाइ प्रति भएको द्वेश यहिँ बेला पोख्ने र झगडा गर्नेहरु पनि देख्दछौ ।

कूलपूजा वास्तवमा हाम्रो वंशको शुरुवात गरिदिने वंश पुरुषलाई सम्झेर पूजा गर्ने हो । तसर्थ आज हामी जे छौ वहाँकै कारणले हो भनेर सम्झने दिन हो । तसर्थ कूलदेवताको कुनै आकृति वा रुप राखिएको हुदैन । तर साथमा साक्षिका रुपमा बिभिन्ने देवी वा देवता पनि राखिएको हुन्छ । तर समयकालसंगै आकृति नभएको कूलदेवता नासिन्छ । तर आकृति दिइएको देवतालाई कसैले हटाउने दुस्साहस गर्न नसक्ने हुँदा रहिरहन्छ । जसले गर्दा धेरैजसो आफ्नो कूलदेवता भनेकै देवताको रुप हो भन्ने गर्दछन् ।

प्रतिक्रिया