बुधबार, जेठ २२, २०८२

दीर्घरोगीलाई मासिक एक हजार जीविकोपार्जन भत्ता

नेपालखोज २०८२ जेठ २० गते २०:४६

गुल्मी । यहाँको छत्रकोट गाउँपालिकाले दीर्घरोगी बिरामीहरुलाई मासिक रु एक हजार जीविकोपार्जन भत्ता उपलब्ध गराउने भएको छ ।

गाउँपालिकाले मिर्गौला प्रत्यारोपण तथा डायलाइसिस गराइरहेका, गम्भीर मुटुरोगी (ओपन हर्ट सर्जरी), क्यान्सर र मेरुडण्डको पक्षघातका बिरामीहरुका लागि जीविकोपार्जन भत्ता उपलब्ध गराउने निर्णय गरेका गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिए ।

गाउँपालिकाको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रमअनुसार कार्यपालिका बैठकबाट मासिक जीविकोपार्जन भत्ता उपलब्ध गराउने निर्णय गरेको हो ।

पालिकाले सूचना प्रकाशन गरी उक्त भत्ता प्राप्त गर्न बिरामीहरूले सक्कल निवेदनसहित मेडिकल रिपोर्ट, नागरिकताको प्रतिलिपि, चेकको प्रतिलिपि र सम्बन्धित वडा कार्यालयको सिफारिस पेस गर्नुपर्ने जनाएको छ ।

सबै प्रक्रिया पूरा गरेपछि बिरामीको खातामा वार्षिक रुपमा भत्ता जम्मा हुने स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोख्रेलले बताउनुभयो । गाउँपालिकाभित्र उक्त प्रकृतिका हाल ७५ बिरामी रहेका छन् ।

छत्रकोट गाउँपालिकाले विपन्न बिरामीका लागि पनि रोगको प्रकृति हेरेर रु १० हजारदेखि २५ हजारसम्म आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । -रासस

प्रतिक्रिया