बिहीबार, जेठ २३, २०८२

नेपाल चेम्बर र जिम्बावेबीच व्यापार सहजिकरण र लगानी अभिवृद्धिका लागि छलफल

नेपालखोज २०८२ जेठ २१ गते १७:३५

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र जिम्बावेबीच व्यापार सहजीकरण एवं लगानी अभिवृद्धिबारे मंगलबार छलफल भएको छ ।

काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल र नेपालका लागि जिम्बावेका राजदूत स्टेला न्होकोमोबीच व्यापार साझेदारी, लगानीको अवसर, जलवायु परिवर्तनविरुद्धको कदम लगायतका विषयमा सहकार्य गर्नेबारे छलफल भएको हो ।

अध्यक्ष अग्रवालले नेपालमै आवासीय राजदूतावास खोल्नका लागि पहल गर्न समेत राजदूत न्होकोमोेसंग प्रस्ताव गरे । दुवै देशमा आवासीय राजदूतावास खोलेर व्यापार सहजीकरण, जलवायु परिवर्तन विरुद्ध सहकार्य, लगानी अभिवृद्धि तथा पर्यटन क्षेत्रमा सहकार्य गर्नुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिए । दुवै देशलाई फाईदा पुग्नेगरी दुई पक्षीय सहमति गरेर आर्थिक लाभ लिनुपर्ने उनको भनाई छ । नेपाल, जिम्बावेबीचको निजी क्षेत्रबीच बी टु बी भेटवार्ता गर्नुपर्ने अध्यक्ष अग्रवालको भनाई छ ।

नेपालमा लगानीको वातावरण सहज रहेको र प्रतिफल सुनिश्चिता रहेकोमा अध्यक्ष अग्रवालले जोड दिए । उनले हाईड्रोपावर, पर्यटन लगायतका क्षेत्रका लगानीका लागि पहल गर्न राजदूत न्होकोमोलाई प्रस्ताव गरे ।

आगामी वर्षको बजेटमा सहज व्यवस्था गरिएकाले वैदेशिक लगानीलाई धेरै नै सहजता प्राप्त गरेको अध्यक्ष अग्रवालले बताए ।चेम्बर पदाधिकारीसंगको भेटवार्ताका क्रममा राजदूत न्होकोमोले नेपालमा आवासीय राजदूत खोल्नुपर्ने विषयमा आफु गम्भिर रहेको र यसका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।

उनले नेपालको जलविद्युत क्षेत्रमा लगानीको सम्भावना रहेको र त्यसका लागि जिम्वावेका निजी क्षेत्रसंग पहल गर्ने समेत बताए । नेपालको सगरमाथाले आफुलाई लोभ्याएको भन्दै उनले पर्यटन क्षेत्रमा लगानीको अथाह सम्भावना रहेकोमा जोड दिए । दुई देशबीच आर्थिक सहकार्य र साझेदारीका लागि आफुले पहल गर्ने उनको भनाई छ ।

प्रतिक्रिया