बिहीबार, जेठ २३, २०८२

मुस्ताङका चार पालिकामा ‘पूर्ण खोप सुनिश्चितता’

नेपालखोज २०८२ जेठ २१ गते २०:३६

मुस्ताङ । यहाँको घरपझोङ गाउँपालिकासहित चार स्थानीय तहलाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका’ घोषणा गरिएको छ ।

‘स्थानीय स्रोतको उपयोग, स्वामित्व, सहभागिता, पूर्ण खोप गाउँपालिकाका हाम्रो प्रतिबद्धता’ नारासहित ती स्थानीय तहलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।

यहाँका घरपझोङ, लोमान्थाङ, लोघेकर दामोदरकुण्ड र थासाङ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको जनस्वास्थ्य कार्यालय मुस्ताङका तथ्याङ्क अधिकृत राजन पहाडीले जानकारी दिए ।

उनका अनुसार मुस्ताङका पाँच पालिकामध्ये चार पालिकाले पूर्ण खोप घोषणा गरेको र केही दिनमा वारागुङ मुक्तिक्षेत्रले पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने कार्यक्रम रहेको छ ।

घरपझोङले आज यहाँ एक कार्यक्रम गरी पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको गाउँपालिकाका स्वास्थ्य शाखा अधिकृत कर्णबहादुर थकालीले जानकारी दिए ।

पूर्ण खोप पालिका घोषणा गर्दै पालिका अध्यक्ष मोहनसिंह लालचनले सबैको सामूहिक प्रयासले घोषणा कार्य सम्पन्न भएको र अब यसलाई निरन्तरता दिन लाग्नुपर्ने बताए ।

गाउँपालिका उपाध्यक्ष जमुना थकालीले गाउँपालिकाले तयारी गरेको बालमैत्री स्थानीय शासनको सूचकमध्ये खोप कार्यक्रम महत्वपूर्ण रहेको भन्दै यसको दिगोपना अपरिहार्य रहेको उल्लेख गरे । प्रदेश अस्पताल जोमसोमका चिकित्सक डा मनिष कोइरालाले बालबालिकालाई स्वस्थ्य राख्नका लागि शारीरिक, मानसिक र अन्य वृद्धि विकासमा खोप अनिवार्य रहेको बताए ।

यसअघि यहाँका पाँच पालिकाका २५ वटा वडामध्ये चार पालिकाका २० वडाका वडास्तरीय खोप समन्वय समितिले पूर्ण खोप लगाएको घोषणा गरेपछि पालिकालाई पनि पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । -रासस

प्रतिक्रिया