शुक्रबार, जेठ २४, २०८२

शेर्पा बिना सगरमाथा चढेकी पहिलो नेपाली महिला: पार्वती जोशीको साहसिक सफलता

नेपालखोज २०८२ जेठ २२ गते १६:२५

काठमाडौं । ‘सगरमाथा चढ्न शेर्पा चाहिन्छ’ भन्ने आम धारणा तोड्दै, रसुवा आमाछोदिङमो-४ की पार्वती जोशीले सन् २०२५ मे १९ तारिखका दिन इतिहासमा पहिलो पटक बिना कुनै शेर्पाको सहयोग ८८४८ मीटर अग्लो सगरमाथा को शिखरमा पाइला टेक्ने पहिलो महिला बनेकी छिन् र रसुवा जिल्लाबाटै सगरमाथा चढ्ने पहिलो महिला भएकी छन् ।

पार्वतीको यो यात्रा केवल आरोहण थिएन-यो एक सपना थियो, जुन उनले आत्मविश्वास, साहस र अथक तयारीका बलमा साकार पारेकी हुन् । पिता कान्छा काजी (आलुम) जोशी र माता लक्ष्मी जोशी (घिसिङ) की छोरी पार्वतीको जन्म १९९२ डिसेम्बर २४ मा भएको हो ।

बाल्यकालदेखि नै खेलप्रेमी र उनी भलिबलकी उत्कृष्ट खेलाडी थिइन्, राष्ट्रियस्तरको प्रतियोगिता समेत खेलेकी छिन् । ‘भलिबल खेल्दै दौडिदैं गर्दा नजिक को हिमालले मलाई सधैं तानिरहन्थ्यो,’ उनि भन्छिन् ।

पदयात्राको प्रेमि-उनी ट्रेकिङ गाइड बन्न पुगिन् । उनी इन्ट्रेपिट ट्राभल एजेन्सीमा एक प्रमाणित गाइड र टिम नेतृत्व कर्ताका रूपमा हाल कार्यरत छिन् । ट्रेकिङका क्रममा उनले धेरै हिमाली सौन्दर्यको दृश्य अवलोकन गर्दैगर्दा, यही बाटो हुँदै पर्वतारोहणमा लाग्ने रहर जाग्यो ।

सन् २०१६ मा उनले आधारभूत पर्वतारोहण तालिम लिइन् । ‘जब पर्वतारोहणको तालिम लिएँ, तब लाग्यो-अब सगरमाथा पनि चढ्न सक्छु,’ पार्वतीले भनिन् । उनले एडभान्स कोर्स सन् २०२० मा पुरा गरिन् ।

पार्वतीले काठमाडौंबाट अप्रिल २०,२०२५ मा यात्रा सुरु गरेकी हुन् र उनले मे १९ मा सगरमाथाको शिखरमा पाइला टेकिन् र मे २४, २०२५ मा पुनः काठमाडौं फर्किइन् । यो पूरा यात्रामा उनले कुनै शेर्पाको सहयोग नलिई आफ्नो निर्णय, आरोहण रणनीति र साहसमा भर गरिन् र इतिहास रचिन्। सम्पूर्ण नेपाली महिलाका लागि प्रेरणाको श्रोत बनेकी छिन् ।

प्रतिक्रिया