सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं । सर्लाहीको बागमती नगरपालिका-८ स्थित सडकमा बरहथवाबाट सोल्टीतर्फ जाँदै गरेको ना.२ त २८७ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने सागर बिष्टकी छोरी ४ वर्षीया प्रनिषा बिष्टको मंगलबार साँझ मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको वयोधा अस्पताल वीरगंजमा थप उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पर्साको पकाहा मैनपुर गाउँपालिका–३ स्थित सडकमा धोरेबाट खेस्राहातर्फ जाँदै गरेको बिआर २२ एवाई २९९४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक छिपहरमाई गाउँपालिका-२ चर्गाहा बस्ने ३० वर्षीय शत्रुधन मुखियाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी पर्साको वीरगंज महानगरपालिका–१४ ठूलो पिपरास्थित सडकमा एचआर ५८ ई ५८९३ नम्बरको ट्रकले ना.४४ प.९८५ नम्बरको मोटरसाइकललाई गए राति ठक्कर दिँदा मोटरसाइकल चालक सोही महानगरपालिका–१४ ठूलो पिपरा बस्ने ३५ वर्षीय सहिद अंसारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको एलएस न्यूरो अस्पताल बारामा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको वीरगंज हेल्थकेयर अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया