शुक्रबार, जेठ २४, २०८२

दलित समुदायको सशक्तीकरणका लागि पार्टीभित्रै जागरण ल्याउनुपर्नेमा जोड

नेपालखोज २०८२ जेठ २२ गते २०:५९

पाटन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले दलित समुदायको सशक्तीकरणका लागि पार्टीभित्रै जागरण ल्याउनुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय समता दिवस तथा छुवाछुतमुक्त राष्ट्र घोषणाको सन्दर्भमा नेपाली कांग्रेसको दलित समुदाय समन्वय तथा सशक्तीकरण विभागद्वारा आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘दलित समुदायको वर्तमान अवस्था र समस्या समाधानमा राज्य एवं राजनीति दलको भूमिका’ विषयक अन्तरसंवाद गरेको थियो ।

सो अन्तरसंवादको समापन समारोहमा उनले असमानताको अन्त्य गरेर मात्र लक्ष्यमा पुग्न सकिने बताए । उनले लोकतन्त्र र बहिष्करणसँगसँगै जान नसक्ने उल्लेख गरे

पार्टीका सहमहामन्त्री भीष्मराज आङ्दम्बेले सत्तामा पुग्न नेतृत्वले गरेको व्यवहार र सोचका कारण विभेदको अन्त्य नभएको बताउनुभयो । बहसमा मात्रै केन्द्रीत नभएर समस्यालाई समाधानमा लाग्नुपर्ने उनको भनाइ छ ।

पार्टीका प्रवक्ता डा प्रकाशशरण महतले नेपाली कांग्रेसले सुरु गरेको असमानता, छुवाछूत र विभेद्विरुद्धको अभियानलाई तीव्रता दिनुपर्ने बताए । ‘नेपालमा मात्रै विभेद छ भन्ने भाष्य पनि सही छैन, देशको आधा जनसङ्ख्या महिला हुँदा पनि स्वीजरल्याण्डमा त लामो समयसम्म मताधिकार नै दिइएको थिएन, पछि मात्रै भएको हो । यो सबै कुरा शिक्षा र चेतनाले फरक पार्दो रहेछ, हामीले यसलाई तत्कालै ध्यान दिनुपर्छ, नियम र कानुनले मात्रै हुँदैन’ उनले भने ।

नागरिकको घरघरमा पुग्ने संस्था भनेको राजनीतिक दलहरू नै भएकाले छुवाछूतविरुद्ध बाँकी रहेको अवशेष हटाउन क्रियाशील हुनुपर्नेमा उनले जोड दिए । -रासस

प्रतिक्रिया