कैलालीमा पाँच सय ४९ नयाँ उद्योग थपिए

अत्तरिया(कैलाली) । जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालय चालु आवको प्रथम १० महिनामा पाँच सय ४९ नयाँ उद्योग दर्ता भएका छन् । उक्त कार्यालयका सूचना अधिकारी शर्मिला बस्नेतका अनुसार एक सय १२ उत्पादनमूलक,दुई सय चार कृषिमूलक,दुई वटा पर्यटनमूलक,दुई वटा सूचना प्रविधि र २२९ सेवामूलक घरेलु तथा साना उद्योग दर्ता भएका हुन् ।
जिल्लामा हालसम्म घरेलु तथा साना उद्योग दर्ताको सङ्ख्या १६ हजार आठ सय ४६ पुगेको छ । दर्ता भएकामध्ये उत्पादनमूलक तीन हजार ५१८,कृषिमूलक सात हजार ३६,निर्माणमूलक दुई,पर्यटनमूलक ६८,सूचना प्रविधका १४ र सेवामूलक छ हजार २०८ उद्योग रहेका उनले बताए । चालु आवको सोही अवधिमा स्थानीय व्यापारअन्तर्गत वाणिज्यसम्बन्धी ५३२ वटा फर्म दर्ता भएका छन् ।
वाणिज्य,आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालयले २०८० पुस १ गते स्थानीय व्यापारतर्फका हस्तान्तरण गरेका तथा त्यसयता उक्त कार्यालयमा दर्ता भएका गरी वाणिज्यतर्फका फर्मको सङ्ख्या २५ हजार एक सय २७ पुगेका उनले जानकारी दिए । चालु आवमा दुई सय ३६ वटा घरेलु तथा साना उद्योग र वाणिज्यतर्फका तीन सय १४ गरी पाँच सय ५० वटा फर्मको लगतकट्टा गरिएको सूचना अधिकारी बस्नेतले जानकारी दिए ।
कार्यालयले चालु आवको उक्त अवधिमा एक करोड ४६ लाख एक हजार ५७३ राजस्व सङ्कलन गरेको छ । महिला,दलित र अपाङ्गता भएका व्यक्तिलाई नयाँ उद्योग दर्ता,नवीकरणमा छुटको व्यवस्था भएकाले पछिल्लो समय उद्योग दर्ता गर्नेको सङ्ख्या बढ्दै गएको उनले बताए । गत आवमा सात सय १४ घरेलु तथा साना उद्योग र वाणिज्यतर्फ तीन सय एक फर्म दर्ता भएका थिए । गत आवमा एक करोड ७७ लाख ४४ हजार ७७७ राजस्व सङ्कलन गरेको थियो ।
प्रतिक्रिया