शुक्रबार, जेठ २४, २०८२

राष्ट्रियसभा : सीमा प्रशासनलाई सुदृढ गर्न सरकारको ध्यानाकर्षण

नेपालखोज २०८२ जेठ २३ गते १४:३६

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सभाको बैठक आकस्मिक समयमा सांसद नरबहादुर विष्टले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा ‘भिजिट भिसा’का नाममा नागरिकमाथि गरिएको ठगीको अनुसन्धानका लागि छानबिन समिति गठन गर्न माग गरे ।

यसैगरी बैठकको शून्य समयमा सांसद मनरुपा शर्माले ‘भिजिट भिसा’ प्रकरणलाई निष्पक्ष छानबिन गर्न गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने बताए । सांसद घनश्याम रिजालले आगामी आवको बजेट वक्तव्यमा उल्लेख गरिएको सुनको गहनामा लाग्ने विलासिता कर फिर्ता लिन सरकारसँग माग गरे ।

सांसद रुक्मिणी कोइरालाले झापाका विभिन्न पालिकामा जङ्गली हात्ती आतङ्क बढेको जनाउँदै हात्ती नियन्त्रणको योजना ल्याउन सरकारको ध्यानाकर्षण गराए । सांसद रेणु चन्दले सुदूरपश्चिम प्रदेशलाई धार्मिक पर्यटनको गन्तव्य घोषणा गर्न माग गरे ।

सांसद विष्णुकुमारी सापकोटाले प्लाष्टिकको जथाभावी प्रयोगले वातावरण प्रदूषण बढ्दै गएको उल्लेख गर्दै प्लाष्टिक प्रदूषण रोक्नका लागि विशेष अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए । सांसद विष्णुबहादुर विश्वकर्माले प्रदेश सरकारले निर्माण गरेको ऐन, कानुन कार्यान्वयन नगर्न सङ्घीय सरकारले पत्राचार गर्नुले सङ्घीयतामाथि बेवास्ता गरेको बताए ।

प्रतिक्रिया