शुक्रबार, जेठ २४, २०८२

‘पार्टीमाथीको चौतर्फी आक्रमणलाई सत्य तथ्य प्रवाह गरी जवाफ दिनुपर्छ’

नेपालखोज २०८२ जेठ २३ गते १६:२२

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले नेकपा एमाले नेतृत्वको सरकारले राम्रा काम गरेपनि पार्टी तथा प्रधानमन्त्रीमाथि चौतर्फी घेराबन्दी र आक्रमण भइरहेको बताएका छन् ।

नेकपा (एमाले) बागमती प्रदेश प्रचार तथा प्रकाशन विभागले आज भक्तपुरको डोलेश्वरमा आयोजना गरेको बागमती प्रदेशस्तरीय प्रचार कार्यशालामा उनले पार्टी र सरकारप्रति गलत सूचना सम्प्रेषण भइरहेको बताए ।

महासचिव पोखरेलले भने, ‘अहिले सामाजिक सञ्जालको दुरुपयोग गरी एमाले माथि चौतर्फी घेराबन्दी र आक्रमण भइरहेको छ । सरकारको नेतृत्व माथि आक्रमण भइरहेको छ । नेतामाथि प्रहार भइरहेको छ । यसलाई एमाले प्रचार विभागले चिरेर जानुपर्छ ।’

मूलकको समृद्धि र विकासको नेतृत्व गर्न, मुलुकमा सुशासन कायम गर्न सरकारले काम गरिरहेको उल्लेख गरे । एक वर्षभित्र विकासशील राष्ट्रमा प्रवेश गर्ने १० मूलक मध्ये नेपाल पहिलो नम्बरमा रहेको बताए ।

उनले मिसन ८४ सफल पार्न एमालेका प्रभावकारी कामलाई आमनागरिकमा लैजाने गरी प्रचार गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा एमाले विदेश विभाग प्रमुख डा राजन भट्टराईले नागरिकको सोचाई र धारणाअनुसार सूचना प्रविधिमैत्री, एआई, सामाजिक सञ्जाल, अनलाइन र मल्टी मिडियालाई प्रभावकारी प्रयोग गर्दै सत्य तथ्य जनतामाझ लैजानु पर्ने बताए ।

प्रतिक्रिया