शुक्रबार, जेठ २४, २०८२

संयुक्त राष्ट्रसङ्घको गाजा युद्धविराम प्रस्तावमा ‘अमेरिकी भिटो’ को इरानद्वारा आलोचना

नेपालखोज २०८२ जेठ २३ गते २१:५१

तेहरान । संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले गाजामा तत्काल युद्धविराम र पूर्ण मानवीय पहुँचको माग गरेको प्रस्तावमा भिटो लगाएको भन्दै इरानले बिहीबार अमेरिकाको आलोचना गरेको छ ।

विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बाकाईले एक विज्ञप्ति जारी गर्दै परिषद्का १५ सदस्यमध्ये १४ सदस्यले समर्थन गरेको उक्त प्रस्तावलाई रोक्ने अमेरिकी कदमले ‘इजरायल’ को अपराधमा अमेरिकी संलग्नतालाई दर्शाएको र यसको कडा निन्दा गरेको’ बताएका छन् ।

प्रस्तावको मस्यौदामा गाजामा तत्काल, बिनाशर्त र स्थायी युद्धविरामको माग गरिएको थियो र युद्धग्रस्त गाजा पट्टीमा हमासद्वारा बन्धक बनाइएका बन्धकहरूलाई बिनाशर्त रिहा गर्न माग गरिएको थियो । प्रस्तावले उक्त क्षेत्रमा प्रवेश गर्ने मानवीय सहायतामाथिको सबै प्रतिबन्ध फुकुवा गर्न पनि आह्वान गरेको छ ।

बाकाईले भने, ‘भिटो ‘अमेरिकी सरकारले अन्तर्राष्ट्रिय समुदायको इच्छाको लागि स्पष्ट अपमान मात्र नभई यो र प्यालेस्टिनीहरूको इजरायलको हत्यामा वासिङ्टनको संलग्नताको प्रमाण र अमेरिकी निर्णयकर्ताहरूको नैतिक विवेक प्रयोगको अभावको सङ्केत पनि हो ।’

संयुक्त राष्ट्रसङ्घका लागि वासिङ्टनका राजदूत डोरोथी सियाले बुधबार प्रस्ताव पारित गर्दा ‘इरानको समर्थन प्राप्त हमासलाई हौसला प्रदान गर्ने र युद्धविराममा पुग्ने कूटनीतिक प्रयासलाई कमजोर पार्ने वास्तविकता प्रतिबिम्बित हुने’ बताएका थिए ।

इजरायललाई मान्यता नदिने तेहरानले सन् १९७९ को इस्लामी क्रान्तिदेखि नै प्यालेस्टाइनलाई आफ्नो विदेश नीतिको केन्द्रीय सिद्धान्तका रूपमा प्रस्तुत गर्दै आएको छ । इरानी कूटनीतिज्ञले अन्तर्राष्ट्रिय समुदायलाई ‘गाजामा हत्या रोक्न यहूदी शासन र यसका समर्थकहरूलाई बाध्य पार्न आफ्नो सबै व्यक्तिगत र सामूहिक क्षमता प्रयोग गर्न’ पनि आह्वान गरे । रासस/एएफपी

प्रतिक्रिया