क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले शुक्रबार कम्पनीको रजिस्टर्ड कार्यालय, सुर्खेतमा सफलतापूर्वक सम्पन्न गरेको हो ।
सभाको प्रारम्भमा प्रमुख कार्यकारी अधिकृत प्रताप मान श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाको हालको प्रगति तथा भावी योजनाहरूको संक्षिप्त जानकारी दिएका थिए । त्यसपश्चात् सभामा संचालक समितिका अध्यक्ष ऋषिराज मोरले आफ्नो मन्तव्य सहित कम्पनीको दोस्रो वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सभाबाट विभिन्न महत्वपूर्ण प्रस्ताव सर्वसम्मत रूपमा पारित गरिएका छन् । संचालक समितिको प्रतिवेदनमाथि सभामा उपस्थित शेयरधनीहरुले सकारात्मक अभिव्यक्ति दिँदै प्रतिवेदनलाई सर्वसम्मत रूपमा पारित गरिएको छ । त्यसै गरी लेखापरिक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तको वासलात, आ.व. २०८०/०८१ को नाफा/नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरूलाई छलफल पश्चात सर्वसम्मत रूपमा पारित गरिएको छ ।
आर्थिक वर्ष २०८१/०८२ का लागि बाह्य लेखापरिक्षकको रुपमा जेएन उपाध्याय एण्ड कम्पनीलाई नियुक्त गर्ने निर्णय समेत सभाबाट पारित गरिएको छ । त्यस्तै, सभाले समूह “ख” अन्तर्गत सर्वसाधारण शेयरधनीहरूको तर्फबाट संचालकमा श्री ईश्वर लाल श्रेष्ठ र श्रीमती सुनिता महर्जन निर्विरोध निर्वाचित गरेको छ ।
सभाको समापनमा संस्थाका अध्यक्ष ऋषिराज मोरले नव निर्वाचित संचालकहरूलाई बधाई ज्ञापन गर्दै उपस्थित सम्पूर्ण शेयरधनी, नियामक निकायका प्रतिनिधि तथा अतिथिहरूप्रति आभार व्यक्त गरे । उनले कम्पनीको भविष्यतर्फ केन्द्रित रणनीतिहरू र संस्थागत सुशासनमा प्रतिबद्धता दोहोर्याउँदै सभा विसर्जनको घोषणा गरेका थिए ।
प्रतिक्रिया