शनिबार, जेठ २५, २०८२

गण्डकी प्रदेशसभामा नीति तथा कार्यक्रममाथि छलफल

नेपालखोज २०८२ जेठ २५ गते १९:४१

गण्डकी । गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रममाथि प्रदेशसभामा छलफल जारी छ । यही जेठ २१ गते प्रदेशसभामा प्रस्तुत भएको नीति तथा कार्यक्रमबारे प्रदेशसभा सदस्यहरूले विभिन्न सुझाव तथा धारणा राखेका छन् ।

आज बसेको प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्य चम्पादेवी खड्काले नीति तथा कार्यक्रमले समुन्नत र आत्मनिर्भर प्रदेशको लक्ष्यलाई आत्मसात् गरेको बताए । ‘यो नीति तथा कार्यक्रमले प्रदेश सरकारलाई आफ्नो गन्तव्यमा पुग्न सहयोग पुग्नेछ, नीतिगत र संरचनागत सुधारका महत्वपूर्ण विषयलाई यसले समेटेको छ’, उनले भने ।

प्रदेशसभा सदस्य सीताकुमारी सुन्दासले प्रदेशको समग्र विकासको अवधारणालाई नीति तथा कार्यक्रमले सम्बोधन गरेको बताए । उनले करको दायरा फराकिलो पार्दै राजस्व सङ्कलनलाई वृद्धि गर्ने लक्ष्य लिइएको उल्लेख गरे ।

प्रदेशसभा सदस्य सुशीला सिम्खडाले नीति तथा कार्यक्रममा ठोस र मूर्त विषय आउन नसकेको धारणा राखे । प्रदेशसभा सदस्य महेश भट्टराईले प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाले निर्दिष्ट गरेका लक्ष्य हासिल गर्नेगरी नीति तथा कार्यक्रम आएको बताउनुभयो । उहाँले आत्मनिर्भर र समुन्नत गण्डकी प्रदेशको आधार तयार हुँदै गएको उल्लेख गरे ।

प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले लगानीका क्षेत्र स्पष्ट किटान गर्नुपर्ने बताए । महत्वकाङ्क्षी नभई कार्यान्वयनयोग्य कार्यक्रम मात्र बजेटमा ल्याउनुपर्ने उनको भनाइ थियो । प्रदेशसभा सदस्य डिल्लीराम सुवेदीले मन्त्रालयहरूले बजेट विनियोजनमा कुशलता देखाउनुपर्ने बताए ।

आजको प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्य लक्ष्मणबहादुर पाण्डे, राजकुमारी भुजेललगायतले नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिएका थिए । -रासस

प्रतिक्रिया