आइतबार, जेठ २६, २०८२

वर्षायाम प्रारम्भ हुनुअगावै क्षति नियन्त्रणको पूर्वतयारी

नेपालखोज २०८२ जेठ २६ गते १५:१४

महोत्तरी । बर्खा सुरु हुनुअघि मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले बाढी र डुवान क्षेत्रको नक्शाङ्कन गरी क्षति रोक्न पूर्वतयारी थालेको छ ।

प्रारम्भिक चरणमा बाढी-डुबानबाट हुनसक्ने ठाउँको आकलन गरी त्यसको बचावका लागि पूर्वतयारी गर्न तीन जिल्लाका सुरक्षा निकाय र सरोकारवालाबीच आज बर्दिबासमा समन्वयात्मक पूर्व तयारी थालिएको हो । मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्रालयका विपद् व्यवस्थापन शाखाका विज्ञ, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुख, महोत्तरी, धनुषा र सर्लाहीका सबै सुरक्षा निकायका प्रमुख तथा विपद् प्रतिकार्य अभ्यासमा रहेका सामाजिक सङ्घ संस्थाका अगुवा समन्वयात्मक बैठकमा सहभागी छन् ।

बैठकमा प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले बर्खा सुरु हुनअगावै बाढी र डुवान क्षेत्रको नक्शाङ्कन गरी धनजनको क्षति हुन नदिन पूर्वतयारी थालिएको बताए । बर्सेनि बर्खामा बाढी, डुवान र त्यसपछि महामारीको प्रकोप चल्ने गरेको विगत अनुभव छ, लेखीले भने, यसपालिको बर्खामा क्षति भोग्ने स्थिति नपरोस् भनेर अहिलेदेखि नै तयारी थालिएको हो ।

यो समन्वयात्मक बैठकले तीनवटै जिल्लामा सम्भावित जोखिमबाट हुने क्षति न्यूनीकरण गर्न स्पष्ट खाकासहितको कार्ययोजना बनाउने उनको भनाइ छ । समन्वयात्मक बैठकले तीनवटै जिल्लाका बाढी–डुवान प्रभावित क्षेत्रको नक्शाङ्कन गरी ती क्षेत्रमा बचाव कार्यको पूर्वतयारीका लागि प्रतिकार्य तथा उद्धार टोली तयार अवस्थामा राखिन र उद्धार राहत सामग्री व्यवस्थापन गरिन योजनाबद्ध तालिका बनाउने मनत्रालयका सचिब विमलप्रसाद बरालले बताए ।

महोत्तरीमा मात्रै रातु, मडहा, बाँके, ओक्सी र जङ्घासहितका नदीमा आउने बाढीले बर्सेनि ठूलो सङ्ख्यामा मानिसहरु प्रभावित हुँदै आएका छन् । जिल्लामा रातु नदीको बाढीले नै ४५ हजार भन्दाबढी प्रभावित हुँदै आएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालको भनाइ छ । यसैगरी कमला, जलाद, औरहीसहितका नदीले धनुषामा र बागमती, झिम, लखन्देई र बकैयासहितका नदीमा आउने बर्खे बाढीले धनजनको क्षति गर्दै आएको छ ।

प्रतिक्रिया