सोमबार, जेठ २७, २०८२

हुल बाँधेर आउन थाले बाहुनडाँगीमा हात्ती

नेपालखोज २०८२ जेठ २७ गते २०:३३

झापा । यहाँको मेचीनगर–४ बाहुनडाँगीका बासिन्दा दैनिक भारतबाट हुल बाँधेर आउने जङ्गली हात्तीबाट फेरि आजित बन्न थालेका छन् ।

साँझ नपर्दै मेची नदी पार गरेर आउने ५० देखि ६० वटा हात्तीका समूहले किसानले लगाएको अन्नबाली नष्ट गर्न थालेपछि उनीहरु आजित बनेका हुन् । बिहानै मेची नदी किनारमा पुग्ने गर्नुभएका स्थानीय शङ्कर लुइँटेलले दैनिक बाहुनडाँगी आउने र भारततर्फ फर्कने हात्तीको हुलको तस्बिर, भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्दै आएका छन् ।

किसानले बारीमा लगाएको मकै, सुपारी, केरालगायतका खाद्यान्न बाली खाएर नष्ट गर्दै आएको उनले बताए । वर्षौं लगाएर हात्तीले नखाने नगदे बाली सुपारीको बोट हुर्काएँ, उनले भने, फल्न सुरु भएको थियो सबै भाँचेर नष्ट गरिदियो । उनले विश्व बैंकको सहयोगमा १० वर्षअघि मेची नदी किनारमा गरिएको सोलार फेन्सिङ बिग्रिएपछि हात्ती फेरि बाहुनडाँगीमा हुल बाँधेर आउन सुरु गरेको बताए । सोलार फेन्सिङ बिग्रिएको र मर्मतमा सम्बन्धित निकायले चासो नदिएको उनको गुनासो छ ।

सोको रेखदेखको जिम्मेवारी पाएको मानव–हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण मञ्चका अध्यक्ष निरोज घिमिरेले हाल सोलार फेन्सिङको मर्मत भइरहेको बताए । उनले डिभिजन वन कार्यालय झापाबाट झारपात फाँड्नका लागि चालु आर्थिक वर्ष २०८१/८२ मा रु आठ लाख प्राप्त भएको र मेचीनगर नगरपालिकाद्वारा कर्मचारीको पारिश्रमिकका लागि रु सात लाख बजेट प्राप्त भएको बताए ।

सोलार फेन्सिङको हेरचाहका लागि मासिक पाँच हजारका दरले तलब दिएर १० जना र १२ हजारका दरले तलब दिएर दुई जना प्राविधिक संस्थामार्फत राखिएको बताए । पछिल्लो समय हात्ती आतङ्क बढ्यो भनेर स्थानीयवासीले समाधानको मागसहित मेचीनगर नगरपालिकामा ज्ञापनपत्र समेत बुझाएका छन् ।

डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठले सोलार फेन्सिङ प्राकृतिक र हात्तीका कारण नभई मान्छेले भत्काउने गरेको बताए । विगत १० वर्षयता बाहुनडाँगीमा यही सोलार फेन्सिङका कारण जङ्गली हात्ती आउने क्रम घटेको थियो ।

प्रतिक्रिया