बुधबार, जेठ २९, २०८२

दुई खर्ब १७ अर्बको निर्यात हुँदा १४ खर्ब ७४ अर्बको आयात, व्यापार घाटा १२ खर्ब ५६ अर्ब 

मुलुकको अर्थतन्त्र कतातिर ?

नेपालखोज २०८२ जेठ २८ गते १३:००

काठमाडौं । मुलुकको कुल निर्यात र कुल आयात बिचको खाडल निकै नै उच्च देखिएको छ । नेपाल राष्ट्र बैंकले मंगलवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था सम्बन्धी १० महिनाको प्रतिवेदन अनुसार कुल वस्तु निर्यात र र आयातबिचको असन्तुलन उच्च हुँदा व्यापार घाटा १२ खर्ब ५६ अर्ब नाघेको छ ।  

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको १० महिनामा कुल वस्तु निर्यात ७२ दशमलव सात प्रतिशतले बढेर दुई खर्ब १७ अर्ब ९१ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा तीन दशमलव छ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः एक सय चार दशमलव सात प्रतिशत, पाँच दशमलव एक प्रतिशत र चार दशमलव दुई प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको तेल, पोलिस्टरको धागो, चिया, जुटका सामान, पिना लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिंक सिट, तयारी पोसाक, जुस, अलैँची लगायतका वस्तुको निर्यात घटेको छ ।

चालु आवको पछिल्लो १० महिनामा कुल वस्तु आयात भने १३ दशमलव एक प्रतिशतले बढेर १४ खर्ब ७४ अर्ब ९ करोड रुपैयाँ पुगेको छ ।  अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा दुई दशमलव चार प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः सात दशमलव नौ प्रतिशत, १५ दशमलव एक प्रतिशत र २८ दशमलव तीन प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा भटमासको कच्चा तेल, चामल-धान, खाने तेल, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस, स्पन्ज आइरन लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, सुन, विद्युतीय उपकरण, रासायनिक मल, कोइला लगायतका वस्तुको आयात घटेको छ । निर्याततर्फ जलेश्वर, कञ्चनपुर र तातोपानी बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात बढेको छ । आयाततर्फ भैरहवा, विराटनगर, वीरगन्ज, सुख्खा बन्दरगाह, जलेश्वर, कैलाली, कञ्चनपुर, कृष्णनगर, मेची, नेपालगन्ज, रसुवा, तातोपानी र त्रिभुवन विमानस्थल भन्सार कार्यालय लगायतका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ । 

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ को दश महिनामा कुल वस्तु व्यापार घाटा छ दशमलव सात प्रतिशतले बढेर १२ खर्ब ५६ अर्ब २८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा दुई दशमलव तीन प्रतिशतले कमी आएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १४ दशमलव आठ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात नौ दशमलव सात प्रतिशत रहेको थियो । ज्ञघ। समीक्षा अवधिमा भारतबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी गरी एक खर्ब ५२ अर्ब ४८ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात एक खर्ब २२ अर्ब २ करोड बराबरको भएको थियो । 

प्रतिक्रिया