नेपाल नेदरल्यान्ड्सविरुद्ध ब्याटिङमा

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले पहिला ब्याटिङ गरिरहेको छ । स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा नेदरल्यान्ड्सका कप्तान स्कट एड्वार्डले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
नेपाली टोलीमा आज तीन खेलाडी परिवर्तन गरिएको छ । अभ्यासका क्रममा घाइते भएपछि सोमपाल कामी र गुल्सनकुमार झा आजको खेल खेल्नबाट वञ्चित भएका छन् । उनीहरूको स्थानमा नन्दन यादव र बसिर अहमदलाई मौका दिइएको छ । दायाँ हाते तीव्र गतिका बलर नन्दनले आजैको खेलबाट एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा डेब्यू गरेका छन् ।
त्यसैगरी, ओपनर एवं विकेटकिपर आसिफ शेखको स्थानमा अनिल साहलाई खेलाइएको छ । आज नेपाल तेस्रो जितको खोजीमा छ । यसअघि नेपालले स्कटल्यान्डलाई एक विकेटले तथा नेदरल्यान्ड्सलाई पाँच विकेटले पराजित गरेको थियो । यस्तै, नेपाल स्टकल्यान्डसँगको दोस्रो खेलमा भने दुई रनले पराजित भएको थियो ।
यता नेदरल्यान्ड्स पहिलो जितको लक्ष्यमा छ । नेदरल्यान्ड्स भने स्कटल्यान्डसँग ४४ रनले पराजित भएको थियो । नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, अनिलकुमार साह, कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, बसिर अहमद, सन्दीप लामिछाने, नन्दन यादव, करण केसी, र ललित नारायण राजवंशी छन् ।
प्रतिक्रिया