बुधबार, जेठ २९, २०८२

ग्यास चुहावट हुँदा आगलागी

नेपालखोज २०८२ जेठ २८ गते १८:५७

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१ बन्साहका गणेश पन्तको घरमा आज दिउँसो आगलागी हुँदा रू १५ लाख बढीको क्षति भएको छ । भान्साकोठामा खाना पकाउन राखिएको ग्यास चुहावट भई आगलागी भएको हो ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक राजेश बस्नेतका अनुसार आगलागीबाट घरभित्र र पसलभित्र राखिएको नगद रु एक लाख १० हजार, सुन, लत्ताकपडा, खाद्यान्न, फर्निचर, फ्रिजलगायतमा गरी रु १५ लाखको क्षति भएको छ ।

आगलागी भएको जानकारी पाइएपछि नगरपालिकाको दमकलको सहायताले प्रहरी, नगर प्रहरी र स्थानीय बासिन्दाले आगलागीमाथि नियन्त्रण गरेको प्रहरी निरीक्षक बस्नेतले बताए । समयमै आगलागी नियन्त्रण हुँदा मानवीय, पशुचौपायामा क्षति हुन नपाएको उनले बताए ।

वडा अध्यक्ष उत्तरदेव भट्टका अनुसार आगलागी पीडित परिवारलाई वडाका तर्फबाट चामल, नुन तेल, दाल, चाउचाउ, भुजालगायत गरी रु पाँच हजार बरावरको सहयोग गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा झलारीसँग समन्वय गरिएको उल्लेख गर्दै उनले भाँडाकुँडा, लत्ताकपडा उपलब्ध गराउनका लागि पहल गरिएको बताए । अहिले घरमा लागेको आगो नियन्त्रणमा आएको छ । -रासस

प्रतिक्रिया