महाकाली करिडोरमा पर्ने रूख कटान गरिँदै

दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरको ब्रह्मदेवबाट दार्चुलाको तिङ्कर जोड्ने महाकाली करिडोरअन्तर्गत पर्ने वन क्षेत्रमा रूख कटानको काम भइरहेको छ । कोरिडोरअन्तर्गत कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलामा गरी करिब १९ हजार रूख कटान गर्नुपर्ने महाकाली करिडोर दार्चुला तिङ्कर सडक योजनाका कार्यालयका योजना प्रमुख दीपक सुनारले जानकारी दिए ।
उनका अनुसार अहिले कञ्चनपुर र डडेल्धुरामा रूख कटानको काम भइरहेको छ । ‘सबैभन्दा बढी रूख कटान गर्नुपर्ने डडेल्धुरामा रूख कटानको काम भइरहेको छ’, उनले भने, ‘करिडोरअन्तर्गत करिब १९ हजार रूख काट्नुपर्ने छ ।’ रूख कटानको काम सम्बन्धित जिल्लास्थित डिभिजन वन कार्यालयबाट भइरहेको छ ।
महाकाली कोरिडोरअन्तर्गत पर्ने कञ्चनपुरको ब्रह्मदेव क्षेत्रमा जिरो प्वाइन्टदेखि ११ किलोमिटरसम्ममा रूख कटान सुरू गरिएको छ । दुई वर्षअघि नै रूख कटानको आदेश आए पनि उक्त क्षेत्रमा रूख कटान हुन सकेको थिएन ।
डिभिजन वन कार्यालय कञ्चनपुरका वन अधिकृत सुवास कुँवरले अहिले सिद्धनाथ सामुदायिक वन क्षेत्रभित्र पर्ने रूख कटानको काम भइरहेको छ । ‘शून्यदेखि ११ किलोमिटर क्षेत्रमा पर्ने ११५ रूख कटान गर्नुपर्ने छ’, उनले भने ।
त्यसैगरी डिभिजन वन कार्यालय डडेल्धुराका अनुसार १० हजार ४७६ रूख काट्नुपर्नेमा अहिले आठ हजार ३७ रूख कटानको आदेश भएको छ । कञ्चनपुरको ब्रह्मदेवबाट डडेल्धुरा, बैतडी र दार्चुलाको तिङ्करसम्म सडक खुलाउने उक्त योजनाअन्तर्गत ४१३ किलोमिटर सडक निर्माण हुँदैछ ।
जसमध्ये ३३४ किलोमिटर सडक महाकाली लोकमार्ग आयोजना कार्यालय र ७९ किलोमिटर सडक नेपाली सेनाले निर्माण गरिरहेको महाकाली करिडोर दार्चुला तिङ्कर सडक योजनाका कार्यालयले जनाएको छ । सडक योजनाका कार्यालयका योजना प्रमुख दीपक सुनारले आयोजनालाई पर्याप्त बजेट नहुँदा निर्माणले गति लिन नसकेको बताए । आयोजनाका लागि आगामी आथिक वर्षमा रु २३ करोड मात्रै बजेट आएको छ ।
करिडोरको अझै ५५ किलोमिटर ट्र्याक खोल्न बाँकी छ । करिडोरअन्तर्गत कञ्चनपुरमा ११ किलोमिटर, डडेल्धुरामा ५८ किमी, बैतडीमा १४४ किमी र दार्चुलामा १२१ किमी सडक निर्माण हुनेछ । जसमध्ये कञ्चनपुरमा ११ किमी ट्रयाक खुलिसकेको छ भने डडेल्धुरामा २८ किमी ट्रयाक खुलेको छ । त्यसैगरी बैतडीमा ११४ किमी र दार्चुलामा ७७ किमी ट्रयाक खुलेको छ । योजनाका लागि चालु आर्थिक वर्षमा रु ४१ करोड ५० लाख बजेट विनियोजन भएको थियो ।
करिडोर बनेपछि ब्रहमदेव, डडेल्धुरा जिल्लाको जोगबुढा, बैतडी जिल्लाको पञ्चेश्वर, चमेलिया, दार्चुला जिल्लाको लाली, उकू, खलङ्गा, धारी, हिकिला, हुती, धौलाकोट र सुन्सेरा हुँदै तिङ्कर नाकासम्म सडक निर्माण गरी उक्त क्षेत्रको आर्थिक सामाजिक सांस्कृतिक पर्यटकीय साथै शैक्षिक विकासमा योगदान पुर्याउने छ ।
सुदुरपश्चिम प्रदेशका चार जिल्ला कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला जिल्ला जोड्दै नेपाल र चीनको ताक्लाकोटको सिमामा रहेको पिल्लर नं १ सम्म निर्माण हुने यस सडक योजनाबाट उक्त क्षेत्रमा बसोबास गर्ने करिब एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने सरकारको अपेक्षा छ । -रासस
प्रतिक्रिया