बिहीबार, जेठ ३०, २०८२

मह र मासमा अनुदान पाएपछि तनहुँका किसान उत्साहित

नेपालखोज २०८२ जेठ २९ गते ७:४४

दमौली । आँबुखैरेनी गाउँपालिकाले किसानलाई मह र मास उत्पादनमा अनुदान दिएपछि किसान उत्साहित भएका छन् । उत्पादनमा आधारित अनुदान कार्यक्रमअन्तर्गत किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले मह र मासमा अनुदान दिएको हो ।

गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीका अनुसार किसानलाई मह र मासखेतीमा आकर्षित गर्ने उद्देश्यसहित पालिकाले प्रतिकिलो रु २५ का दरले अनुदान दिएको हो । आँबुखैरेनी–४ र ५ का किसानले चालु आर्थिक वर्षमा मह र मास उत्पादन गरेबापत रु तीन लाख ९३ हजार ४५० अनुदान पाएका छन् ।

पालिकाले मह र मास हाटबजारसम्म ढुवानीको व्यवस्था पनि मिलाएको छ । चालु आर्थिक वर्षमा सात कृषक समूहमा आबद्ध एक सय २३ किसानले अनुदान पाएका छन् । आँबुखैरेनी गाउँपालिका–४ स्थित थामचुली मौरीपालक कृषक समूहमा आबद्ध किसानले चार सय ५० किलो मास र दुई सय ५८ किलो मह उत्पादन गरेबापत रु १७ हजार ७०० अनुदान पाएका छन् ।

त्यसैगरी आँबुखैरेनी–४ स्थित खस्राङ गाउँ कृषक समूहमा आबद्ध किसानले दुई हजार ७९७ किलो मास उत्पादन गरेबापत रु ६९ हजार ९२५ अनुदान पाएका छन् । आँबुखैरेनी–५ स्थित माइ छिम्केश्वरी कृषक समूहमा आबद्ध किसानले आठ सय ७१ किलो मास उत्पादन गरेबापत रु २१ हजार सात सय ७५ अनुदान पाएका छन् ।

आँबुखैरेनी–५ कै खोलागाउँ कृषक समूहमा आबद्ध किसानले दुई हजार ५९० किलो मास उत्पादन गरेबापत रु ६४ हजार ७५० अनुदान पाएका छन् । इन्द्रदेवी कृषक समूहमा आबद्ध किसानले एक हजार ५० किलो मास उत्पादन गरेबापत रु २६ हजार २५० अनुदान पाएका छन् ।

भुकुन्डी खेउसिङ कृषक समूहमा आबद्ध किसानले छ हजार सात किलो मास उत्पादन गरेबापत रु एक लाख ५० हजार १७५ अनुदान पाएका छन् । आँबुखैरेनी गाउँपालिका–४ स्थित थानीमाइ कृषक समूहमा आबद्ध किसानले एक हजार ७३२ किलो मास र ११ किलो मह उत्पादन गरेबापत रु ४३ हजार ५७५ अनुदान पाएका छन् । खोला गाउँ कृषक समूहका अध्यक्ष शुकमाया प्रजाले उत्पादनमा आधारित अनुदानले किसान आकर्षित भएका बताए । -रासस

प्रतिक्रिया