बिहीबार, जेठ ३०, २०८२

लागूऔषधसहित विभिन्न स्थानबाट २१ जना पक्राउ

नेपालखोज २०८२ जेठ २९ गते १६:१२

काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–३ स्थित ग्राण्डी अस्पतालको पछाडिबाट लागूऔषध खैरो हेरोइन करिब २ सय ग्राम सहित २ जना भारतीय नागरिकलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत वेस्ट बंगाल ईस्लामपुर-११ घर भएका ४० वर्षीय साशिक आलम र भारत बिहार घर भएका २२ वर्षीय मोहमद मन्जुर आलम रहेकाछन् ।

काठमाडौं उपत्यकामा लामो समयदेखि लागूऔषध खैरो हेरोइनको खरिद बिक्री तथा ओसारपसारको कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–११ सुन्धाराबाट भारत पठाना दानापुर घर भएका २० वर्षीय सुमित कुमार र २५ वर्षीय चन्दन कुमार जैसवाललाई नियन्त्रणमा लिएको थियो ।

थप अनुसन्धानको क्रममा साशिक र मोहमद मन्जुरसँग बिक्री गर्नको लागि खैरो हेरोइन रहेको भन्ने खुल्न आएपश्चात प्रहरीले उनीहरूलाई उक्त खैरो हेरोइनसहित पक्राउ गरेको हो । साथै नियन्त्रणमा लिने क्रममा उनीहरूले प्रहरीलाई लक्षित गरी फलामको रड प्रहार गरे पश्चात प्रहरीले आत्मरक्षाको लागि गोली फायर गर्दा दुबै जना घाइते भएका थिए । उनीहरूको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

कैलालीको घोडाघोडी नगरपालिका-१ सुखडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २१ ग्राम ८२० मिलिग्राम सहित सोही नगरपालिका-१ लक्ष्मीपुर बस्ने २० वर्षीय उमेश नाथ योगी समेत ५ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलालीको गोदावरी नगरपालिका-५ गेटाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम १ सय ८० मिलिग्राम सहित सोही नगरपालिका–१ मनहरा बस्ने २० वर्षीय कमल रिजाललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

सिराहाको गोलबजार नगरपालिका–४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने अर्नमा गाउँपालिका-३ हरकट्टा घर भएका २० वर्षीय राकेश कुमार महतोलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी सिराहाको गोलबजार नगरपालिका–६ गोल चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने ४३ वर्षीय श्याम कुमार साहलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले गोल चोकबाट सैनिक चोकतर्फ जाँदै गरेको मधेश प्रदेश–०१–००४ प ८३२१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

झापाको शिवसताक्षी नगरपालिका–७ शिवालय मन्दिर चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार ट्याब्लेट सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–३ बस्ने १९ वर्षीय प्रवेश लिम्बु र सोही नगरपालिका–२ बस्ने १९ वर्षीय सुजन कार्कीडोली रहेका छन् । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–११ गड्डाचौकीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय ४० मिलिग्राम सहित बेदकोट नगरपालिका–८ गैलनदी बस्ने २ जना १८ वर्षीय किशोरहरूलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

मकवापुरको हेटौंडा उपमहानगरपालिका–९ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ७० मिलिग्राम सहित ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने २२ वर्षीय अनिस थापा, हेटौंडा उपमहानगरपालिका–१४ बस्ने २१ वर्षीय प्रशान्त भन्ने तेजन स्याङ्तान र सोही उपमहानगरपालिका–१३ बस्ने २० वर्षीय एलिश लुङ्वा रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले अनिसको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी तीनै जनालाई पक्राउ गरेको हो ।

यसैगरी मकवानपुरको हेटौंडा उपमहानगरपालिका–६ गुम्बाचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ५० मिलिग्राम र नगद २२ हजार ५ सय १० रूपैयाँ सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–४ बस्ने कैलाश गाउँपालिका–९ घर भएका १९ वर्षीय निश्चल लामा नेगी र सोही उपमहानगरपालिका–९ डेरा गरी बस्ने चितवन राप्ती नगरपालिका–६ घर भएका २० वर्षीय अभिषेक राना रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया