शुक्रबार, जेठ ३१, २०८२

गण्डकी प्रदेशमा बैंकिङ सेवा प्रभावकारी, प्रतिशाखा सेवाग्राही संख्या १७ सय ५७ जना

नेपालखोज २०८२ जेठ २९ गते १८:२२

काठमाडाैं । गण्डकी प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरुको सेवा प्रभावकारी देखिएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको गण्डकी प्रदेशको आर्थिक बर्ष २०८१/०८२ को अर्धबार्षिक प्रतिवेदन अनुसार बैंक तथा वित्तीय संस्थाको शाखा सञ्जाल कास्की जिल्लामा सबैभन्दा धेरै र मनाङ जिल्लामा सबैभन्दा कम रहेको छ । समीक्षा अवधिमा गण्डकी प्रदेशमा प्रति शाखा जनसंख्या एक हजार सात सय ५७ रहेको छ । यो प्रदेशको ११ जिल्लामध्ये प्रति शाखा जनसंख्या सबैभन्दा बढी बाग्लुङमा दुई हजार तीन सय आठ र सबैभन्दा कम मनाङमा तीन सय ३३ रहेको छ ।

आर्थिक वर्ष २०८१÷८२ को अर्धबार्षिक प्रतिवेदन अनुसार आ.व. २०८१÷८२ को पुस मसान्तसम्ममा गण्डकी प्रदेशका ११ जिल्लामा ‘क’ ‘ख’ ‘ग’ र ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्थाको शाखा गत वर्षको सोही अवधिको तुलनामा शुन्य दशमलव ४३ प्रतिशतले बढेर १४ सय चार पुगेको छ । जसमध्ये वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी र लघुवित्तको शाखा संख्या क्रमशः छ सय पाँच, एक सय ८९, ३७ र पाँच सय ७३ रहेको प्रतिवेदनमा उल्लेख छ ।

२०८० पुस मसान्तको तुलनामा २०८१ पुस मसान्तमा गण्डकी प्रदेशमा निक्षेप परिचालन ११ दशमलव ३५ प्रतिशतले बढेर पाँच खर्ब ५५ अर्ब ३८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा कुल निक्षेप २३ दशमलव ९८ प्रतिशतले वृद्धि भएको थियो । त्यसैगरी, समीक्षा अवधिमा कुल कर्जा लगानीमा ११ दशमलव ९७ प्रतिशतले बढेर तीन खर्ब ४९ अर्ब ६३ करोड रहेको छ । कुल कर्जा मध्ये कृषि क्षेत्रमा २६ अर्ब २ करोड, औद्योगिक क्षेत्रमा २८ अर्ब ६२ करोड, सेवा क्षेत्रमा एक खर्ब १० अर्ब २० करोड र अन्य क्षेत्रमा (रियल स्टेट, शिक्षा, उपभोग लगायतका अन्य क्षेत्रमा) एक खर्ब ८४ अर्ब ७७ करोड कर्जा प्रवाह भएको छ ।

प्रतिवेदन अनुसार २०८१ पुस मसान्तसम्म गण्डकी प्रदेशमा निक्षेप पाँच खर्ब ५५ अर्ब ३८ करोड परिचालन भएकोमा ५५ प्रतिशत कास्की जिल्लामा रहेको छ । गण्डकी प्रदेशमा कर्जा तीन खर्ब ४९ अर्ब ६३ करोड प्रवाह भएकोमा सबै भन्दा बढी कास्की जिल्लामा ५५ दशमलव छ प्रतिशत प्रवाह भएको छ भने सबै भन्दा कम मनाङ जिल्लामा शुन्य दशमलव एक प्रतिशत प्रवाह भएको छ ।

प्रतिवेदन अनुसार २०८१ पुस मसान्तमा निक्षेप खाताको संख्या सात प्रतिशतले वृद्धि भई ६३ लाख ६५ हजार तीन सय ३५ पुगेको छ भने ऋण खाताको संख्यामा १८ प्रतिशतले वृद्धि भइ दुई लाख २७ हजार दुई सय ८२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा निक्षेप खाता १४ दशमलव नौं प्रतिशतले वृद्धि भएको थियो भने ऋण खाताको संख्या भने २१ दशमलव पाँच प्रतिशतले ह्रास आएको थियो ।

आर्थिक वर्ष २०८१÷८२ को समीक्षा अवधिमा नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयको कार्यक्षेत्रभित्र रहेका राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल बैंक लिमिटेडस्थित ९ वटा नोटकोषमा आठ अर्ब ३० करोड ६६ लाख तोडाचलान भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा सात अर्ब ३० करोड तोडाचलान भएको थियो । २०८१ पुस मसान्तमा प्रदेशमा इन्टरनेट बैंकिङ्ग र मोबाइल बैंकिङ्ग प्रयोगकर्ता संख्या क्रमशः दुई लाख ७३ हजार र २८ लाख ६ हजार पुगेको छ ।

साथै, एटिएम मेसिनको संख्या छ सय १६ पुगेका आर्थिक वर्ष २०८१/८२ को समीक्षा अवधिमा नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयबाट एक अर्ब ९ करोड ७७ लाख बराबरको परिवत्र्य विदेशी मुद्रा खरिद भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ८६ करोड९५ लाख बराबरको परिवत्र्य विदेशी मुद्रा खरिद भएको थियो ।

प्रतिवेदन अनुसार कार्यालयमा प्राप्त कुल परिवत्र्य विदेशी मुद्रामध्ये अमेरिकी डलर १४ दशमलव ३९ प्रतिशत, युरो १८ दशमलव ४९ प्रतिशत र अन्य मुद्रा ६७ दशमलव १२ प्रतिशत रहेको छ । समीक्षा अवधिमा नेपाल राष्ट्र बैंक पोखरा कार्यालयबाट चार करोड ६६ लाख बराबरको भारतीय मुद्रा बिक्री भएको छ । यो रकम गतवर्षको सोही अवधिको तुलनामा दुई सय ७१ दशमलव ९४ प्रतिशतले बढी हो । त्यस्तै, समीक्षा अवधिमा २८ लाख बराबरको भारतीय मुद्रा खरिद भएको छ ।

प्रतिक्रिया