गर्मीले जनजीवन कष्टकर

सुदूरपश्चिम । केही दिनदेखिको उखरमाउलो गर्मीले कैलाली, कञ्चनपुरसहितका जिल्लाको जनजीवन कष्टकर बनेको छ । चर्को गर्मीका कारण सर्वसाधारणलाई दैनिक कामकाज गर्न असहज बनेसँगै जनजीवन प्रभावित बनेको हो ।
पछिल्ला दिनमा धनगढीको अधिकतम तापक्रम र न्यूनतम तापक्रमको अन्तर घट्दै जाँदा बढी गर्मीको महसुस भएको जल तथा मौसम विज्ञान विभाग अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयका प्रमुख सञ्जयकुमार साहले बताए ।
धनगढीमा सोमबारको अधिकतम तापक्रम ४० दशमलव दुई डिग्री सेल्सियस र न्यूनतम तापक्रम २९ दशमलव २ डिग्री मापन भएकामा आज आज अधिकतम तापक्रम ३७ दशमलव दुई र न्यूनतम तापक्रम २६ दशमलव ५ डिग्री सेल्सियस मापन भएको कार्यालयले जनाएको छ ।
पूर्वी नेपालमा भित्रिएको मनसुन पश्चिमी वायुको प्रभावले गर्दा सुदूरपश्चिम प्रदेश पुग्न सकिरहेको छैन । चर्को गर्मीले दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्ने वर्ग, वृद्धवृद्धा र स्कुले बालबालिकालाई बढी प्रभावित पारेको छ । गर्मी बढ्दै जाँदा विद्यालयमा बिदा दिनुपर्ने माग अभिभावकबाट उठ्न थालेको छ ।
गर्मी बढेसँगै मध्याह्नको समयमा धनगढीसहितका बजार क्षेत्रमा ग्राहक पातलिँदा व्यापारिक चहलपहल पनि घटेको छ । गर्मीकै कारण कतिपय व्यापारिक पसल दिउँसोको समयमा बन्द गर्ने गरिएको छ । बढेको गर्मीले पक्की घर तात्न थालेपछि राति कोठामा सुत्न नसकेर अनिँदो बस्नुपरेको स्थानीय मनिराम जोशीले बताए ।
गर्मीसँगै तात्ने पक्की घरका छतमा पानी जम्मा गरेर कोठालाई शीतल बनाउने प्रयास कतिपयले गरिरहेको देखिन्छ । गर्मी बढेसँगै धनगढीका स्वास्थ्य क्लिनिक र अस्पतालमा बान्ता हुने, ज्वरो आउने र टाइफाइड देखिने बिरामीको चाप बढेको स्वास्थ्यकर्मीले बताएका छन् ।
बढ्दै गएको गर्मीबाट बालबालिकालाई जोगाउन उनीहरुलाई झोलिलो खानेकुरा खुवाएर शरीरमा झोलिलो पदार्थको मात्रा बढाउनुपर्ने र सडेगलेका, बासी र जथाभावी राखिएका खानेकुरा नखुवाउन चिकित्सकले सुझाव दिएका छन् । -रासस
प्रतिक्रिया