विश्व बैङ्कको सहयोगमा पोखरामा तीन सडक निर्माणाधीन

गण्डकी । नेपाल सहरी शासकीय पूर्वाधार आयोजनाअन्तर्गत कास्कीको पोखरा महानगरपालिकामा तीन वटा सडक निर्माणाधीन अवस्थामा छन् । विश्व बैंकको आर्थिक सहयोगमा तालचोक-बेगनास सडक, शिशुवा-सिसाघाट सडक र दोबिल्ला-बाघमारा-लामेआहाल-पुँडीटार सडक स्तरोन्नतिको काम भइरहेको हो ।
पोखरा महानगरपालिका र सहरी विकास तथा भवन निर्माण विभागबीच सन् २०२१ मार्चमा परियोजना सम्झौता भई सडक निर्माण अगाडि बढेको महानगरपालिकाको सडक शाखाका इन्जिनियर नवीन गौतमले जानकारी दिए । परियोजनाको सम्झौता पाँच वर्ष रहेकामा हाल एक वर्ष थप भएको उनको भनाइ छ ।
तीन सडकमध्ये शिशुवा–सिसाघाट सडकको भौतिक प्रगति ६५ पुगेको छ भने अन्य दुई सडकको प्रगति न्यून देखिएको छ । पोखरा-२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेन सडकको भौतिक प्रगति ५५ प्रतिशत र दोबिल्ला-बाघमारा-लामेआहाल-पुँडीटार सडकको ४० प्रतिशत पुगेको इन्जिनियर गौतमले बताए ।
विसं २०७९ चैतदेखि निर्माण थालिएको तालचोक–बेगनास सडक कम्पनीको ढिलासुस्तीका कारण समयमै निर्माण हुन नसकेको उनको भनाइ छ । जग्गा विवादका कारण पनि उक्त सडक निर्माणमा ढिलाइ भएको महानगरपालिकाले जनाएको छ ।
कूल ३.२८ किमिको तालचोक–बेगनास सडकलाई चार लेनमा स्तरोन्नति गर्न ‘स्वच्छन्द-सपना–वल्र्डवाइड जेबी’ले निर्माण जिम्मा पाएको थियो । ठेक्का सम्झौता भएको एक वर्षपछि बल्ल सडक निर्माण सुरु भएको थियो । एक अर्ब ४९ करोड रूपैयाँको लागत योजना रहेपनि निर्माण कम्पनीसँग भ्याटसहित ७५ करोड ४८ लाख रूपैयाँमा ठेक्का सम्झौता भएको इन्जिनियर गौतमले बताए । फुट ट्रयाक, साइकल लेन, सडक बत्ती र पार्किङसहितको नुमना सडक बन्ने उनको भनाइ छ ।
सडक छेउछाउमा बगैँचा, यात्रु प्रतिक्षालयसहित आकर्षक पूर्वाधार बनाइने महानगरपालिकाले जनाएको छ । सडकमा तीन वटा पुल पनि बन्नेछन् । अहिले सडक विस्तार, कल्भर्ट, नाला र पर्खाल निर्माणको काम भइरहेको इन्जिनियर गौतमले बताए । पृथ्वी राजमार्गसँग जोडिएको उत्तः सडक बेगनास, रुपा गाउँपालिका हुँदै लमजुङ जोडिन्छ ।
महानगरकै गौरवको आयोजनाका रुपमा तालचोक–बेगनास सडक स्तरोन्नति कार्यलाई अगाडि बढाइएको हो । पोखरा-२७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले चार लेनको सडक बनेमा सात तालको बाटिका भनेर चिनिने सिङ्गो लेखनाथ क्षेत्रको विकासले कोल्टे फर्ने बताए ।
तालचोक-बेगनास सडक पृथ्वी राजमार्गसँग पनि जोडिएकाले आर्थिक र पर्यटन गतिविधि थप बढ्ने उनको भनाइ छ । पृथ्वी राजमार्गअन्तर्गत पोखरा-मुग्लिन सडक पनि अहिले चार लेनमा स्तरोन्नति भइरहेको छ । पोखरादेखि शिशुवादेखि लमजुङको सिसाघाट जोड्ने सडकअन्तर्गत खुदी खोला पुलसम्मको खण्ड अहिले निर्माणाधीन अवस्थामा रहेको छ । कूल ४.१४ किमि दुरीको उक्त सडकमा पनि साइकल ट्रेक, फुटपाथ र सडकबत्ती रहने इन्जिनियर गौतमले बताए ।
त्यस खण्डमा चार वटा कल्र्भट पनि निर्माणका क्रममा छन् । आशीष निर्माण सेवाले ३४ करोड ११ लाख रूपैयाँमा उक्त सडकको निर्माण जिम्मा पाएको थियो । सन् २०२४ अप्रिल १४ बाट निर्माण सुरु भएकामा उक्त सडकको भौतिक प्रगति ६५ प्रतिशत पुगेको हो । गण्डकी प्रदेश राजधानी पोखरा भित्रने वैकल्पिक सडकका रुपमा हेरिएको दोबिल्ला-बाघमारा-लामेआहाल-पुँडीटार सडकको भौतिक प्रगति जम्मा ४० प्रतिशत पुगेको छ ।
कूल १२.४४ किमि दुरीको उक्त सडकको काम गत वर्ष असारदेखि सुरु गरिएको थियो । आशीष निर्माण सेवाले रु ७७ करोड ६८ लाखमा ठेक्का पाएको थियो । सम्झौता अवधिमा काम नसकिएपछि एक वर्षलाई ठेक्का म्याद थप भएको महानगरपालिकाले जनाएको छ । यो सडकमा पनि दायाँबायाँ साइकल ट्रेक, फुटपाथ, सडकबत्ती रहने इन्जिनियर गौतमले बताए । पोखरा–३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले सडकको दायाँबायाँ तीन मिटरमा फलफूलका बिरुवा रोप्न सुरु गरिएको बताए ।
साविक भरतपोखरी गाउँ विकास समिति रहेको त्यस क्षेत्र पोखरा महानगरपालिकामा गाभिएपनि अपेक्षित रुपमा विकास हुन नसकेको वडाध्यक्ष अधिकारीले बताए । महानगरभित्रका ग्रामीण र विकासमा पछाडि पारिएका वडालाई बजेट तथा कार्यक्रममा प्राथमिकता दिन महानगरको नेतृत्वससँग पहल भइरहेको उनको भनाइ छ ।
प्रतिक्रिया