सोमबार, असार २, २०८२

वालिङमा ‘एक विद्यालय एक करेसाबारी अभियान’

नेपालखोज २०८२ असार २ गते ८:५८

वालिङ (स्याङ्जा) । स्याङ्जाको वालिङ नगरपालिका– १४ उपल्लो पेखुस्थित हिमशिखर आधारभूत विद्यालयले दिवा खाजामा प्रयोग गर्ने सामग्री विद्यालयमै उत्पादन गर्दै आएको छ ।

वालिङ नगरपालिकाको ‘एक विद्यालय एक करेसाबारी अभियान’ अन्तरगत सिक्दै कमाउँदै कार्यक्रममार्फत विद्यालयले मौसमी तथा बेमौसमी तरकारीखेती गर्दै आइरहेको छ ।

विद्यालयले शैक्षिक सत्र २०८१ देखि यो कार्यक्रम सञ्चालन गर्दै आएको विद्यालयका प्रधानाध्यापक मित्रलाल खनालले जानकारी दिए ।

नगरपालिकाले यो कार्यक्रम सञ्चालनका लागि शैक्षिक वर्ष २०८१ मा रु एक लाख उपलब्ध गराएको थियो भने चालु शैक्षिक वर्षका लागि रु एक लाख उपलब्ध गराउने गरी सम्झौता भइसकेको उनले बताए ।

सरकारले कक्षा १–५ सम्मका विद्यार्थीलाई दिवा खाजाका लागि प्रति विद्यार्थी रु १५ उपलब्ध गराउँदै आएको छ । कक्षा १–८ सम्म सञ्चालनमा रहेको यस विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराउँदै आएको उनले बताए ।

दिवा खाजामा प्रयोग गरेर रहेको उत्पादनलाई बिक्री गरी चामल, चना लगायतका अन्य खाद्यान्न विद्यालयले खरिद गर्दै आएको छ ।

कक्षा ६, ७, ८ का विद्यार्थी र शिक्षकहरुले कक्षा खाली भएका बेला, बिदाका दिनमा सामूहिकरुपमा करेसाबारीमा तरकारी लगाउन सिक्ने गरेका छन् ।

मलखाद बोक्ने, खनजोत गर्ने अथवा भारी कामका लागि कामदार खोज्ने र हल्का काम शिक्षक विद्यार्थीबाट हुने गरेको छ ।

करेसाबारीमा टनेलभित्र र बाहिर गरी मौसमी र बेमौसमी तरकारी अन्तरगत करेला, घिरौँला, काँक्रा, खुर्सानी, गोलभेडा, काउली, बन्दा, आलु, प्याज, लसुन उत्पादन गर्दै आएको छ ।

विद्यालयले गत शैक्षिक सत्र २०८१ मा रु ८० हजारको गोलभेडा लगायतका तरकारी बिक्री गरेर आम्दानीसमेत गर्न सफल भएको उनले बताए ।

यसवर्ष दिवा खाजामा प्रयोग गर्न मिल्ने खालका तरकारीसँगै व्यावसायिकरुपमा अकबरे खेती गरिएको छ । अहिले विद्यालयको करेसाबारीमा एक हजार बोट अकबरे खुर्सानी लगाइएको छ ।

विद्यार्थीले पढाईसँगै दैनिक जीवनमा प्रयोग हुने ज्ञान सीप विद्यालयमै सामूहिकरुपमा सिक्न पाएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र खाण ठकुरीले बताए । -रासस

प्रतिक्रिया